पानीकै कारण फैलिएकाे हाे धरानमा डेंगी ? माैसमी फ्लू साेचेर खेलाँची गर्दा महामारी

पानीकै कारण फैलिएकाे हाे धरानमा डेंगी ? माैसमी फ्लू साेचेर खेलाँची गर्दा महामारी

व्यावसायिक अवसरका रुपमा लिँदै निजी प्रयाेगशाला, मनपरी शुल्क


धरान ।

डेंगीलाई ‘मौसमी प्रकोप’का रूपमा लिँदा धरान उपमहानगरपालिकामा यसले महामारीको रूप लिएको छ । अघिल्ला वर्षकाे डेंगीको तथ्यांक संकलन गरेर विश्लेषण गर्न चुक्दा सुनसरीको धरानमा हजारौँ नागरिक संक्रमित भएका छन् भने केहीले ज्यानसमेत गुमाएका छन् ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता सरकारको लापरबाहीका कारण डेंगीले महामारीको रूप लिएको बताउँछन् ।

सन् २०१९ (२०७६) मा धरानमा डेंगी प्रकोपको रूपमा फैलिएको थियो । कोरोना महामारीअघि फैलिएको डेंगी ४ हजार ३०० जनामा देखिएको थियो । त्यसअघि छिटफुट रूपमा डेंगीका बिरामी भेटिए पनि प्रकोपकै रूपमा फैलिएको थिएन ।

प्रकोपपछिका ३ वर्ष सामान्य देखिएको डेंगी २०८० को वैशाखमा देखिएको थियो । डेंगी नियन्त्रणमा सरकारले दीर्घकालीन रणनीति बनाउन नसक्दा प्रत्येक वर्ष यसले महामारीको रूप लिइरहेको छ ।

‘सरकारले २०१९ को डेंगी महामारीबाट केही सिकेर आगामी वर्षका लागि योजना बनाएको भए संक्रमण नियन्त्रण बाहिर जाने थिएन,’ मेहताले भने ।

मेहताका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र २२ साउनसम्म ५ हजार ७८७ जनाको परीक्षण गर्दा ३ हजार ६२५ जनामा पोजेटिभ र २ हजार १६२ नेगेटिभ देखिएको छ भने संक्रमण दर ६३ प्रतिशत छ ।

डेंगीका कारण धरानको वडा नम्बर, १५,१७ र १८ बढी प्रभावित छन् । उनका अनुसार सबै वडामा डेंगी संक्रमित छन् । ४ वर्षअघि डेंगी फैलिँदा ४ हजार ३०० जना संक्रमित भेटिए पनि मृत्यु भएको रेकर्ड थिएन । तर, यो वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसरी मृत्यु भएकाहरूमा अन्य दीर्घ रोग पनि देखिएको मेहताले जानकारी दिए ।

उनले भने, ‘एक जना डेंगीकै कारण मृत्यु भएको कन्फर्म हो । अरूलाई अन्य रोग पनि थियो । त्यसबारेमा इपिडियोमोलोजी र बिपी प्रतिष्ठान आफैँले पनि अनुसन्धान गर्दै छ ।’

कसरी फैलियो डेंगी ?

डेंगी सार्ने लामखुट्टे सफा पानीमा हुर्किने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाँडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ । यसरी जम्मा गरेको ड्रम र भाँडामै लामखुट्टे हुर्किरहेका छन् ।

डेंगी फैलाउने लामखुट्टेको जीवन अवधि करिब ३० देखि ४५ दिनको हुन्छ । यो अवधिमा यसले हरेक ४ देखि ५ दिनको अन्तरालमा ९ पटकसम्म फुल पार्छ । एक पटकमा यसले १५० देखि ३०० सम्म फुल पार्छ । यदि फुल पार्ने लामखुट्टे संक्रमित छ भने उसले पार्ने सबै फुल संक्रमित हुन्छन्र  त्यसबाट निस्कने बच्चा पनि सबै संक्रमित हुन्छन् ।

एउटा लामखुट्टे संक्रमित भएपछि उसका सबै सन्तान र त्यसपछिका सबै पुस्ता संक्रमित हुन्छन् । यसरी डेंगी फैलाउने लामखुट्टेको संख्या तीव्र रूपमा बढ्छ । यसलाई ट्रान्स ओभेरियन ट्रान्समिसन अर्थात् एक पुस्ताबाट अर्को पुस्तामा सर्ने रोग भनिने मेहताले बताए ।

डेंगी परीक्षणका नाममा मनपरी शुल्क

अधिकांश ज्वरोका बिरामीको डेंगी परीक्षण हुने गरेको छ । धरानमा रहेका केही निजी अस्पताल र प्रयोगशालाले डेंगी परीक्षणका नाममा मनपरी शुल्क लिइरहेको पाइएको छ ।

धरान उपमहानगरपालिकाको टोलीले बजार अनुगमन गर्ने क्रममा केही प्रयोगशालाले मनपरी शुल्क लिने गरेको पाइएको हो । बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले डेंगी संक्रमणको अवस्थालाई निजी अस्पतालले व्यावसायिक अवसरका रूपमा लिन नहुने बताए ।

डेंगी परीक्षण गर्ने एउटा गुणस्तरीय किटलाई बढीमा ३०० रुपैयाँ पर्छ । तर परीक्षण शुल्क भने १ हजार देखि २ हजारसम्म लिने गरेको पाइएको हो । सापकोटाले डेंगी परीक्षण शुल्क ५०० रुपैयाँ हुनुपर्ने बताए । निजी अस्पताल र प्रयोगशालाले बढी शुल्क लिएको पाइएमा कारबाही गरिने सापकोटाले बताए ।

बिपीमा छुट्टै क्लिनिक र वार्ड

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितको उपचारका लागि निर्माण गरेको कोभिड अस्पतालको खाली वार्डलाई डेंगी संक्रमितको उपचारका लागि प्रयोगमा ल्याएको छ ।

प्रतिष्ठानले असार २९ गतेबाट इमरजेन्सी वार्ड नजिकै पाल टागेर डेंगी क्लिनिक सञ्चालनमा ल्याएको थियो । प्रतिष्ठानको इमर्जेन्सी र ओपिडीमा आउने गम्भीर प्रकृतिका डेंगीका बिरामीलाई आइसियू, इमर्जेन्सी र वार्डहरूमा राखेर उपचार गरिनेछ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगीका बिरामीलाई नयाँ वार्डमा राखिनेछ ।

निःशुल्क डेंगी परीक्षण

धरान उपमहानगरपालिकाले निःशुल्क रूपमा डेंगी रोगको परीक्षण गरिरहेको छ । स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले धरान–८ को सभागृह र छाताचोकमा रहेको स्वास्थ्यचौकीमा निःशुल्क परीक्षण सुरु गरिएको जानकारी दिए ।

साउन १५ गतेदेखि निःशुल्क डेंगी रोग परीक्षण सुरु भएकाले डेंगीको आशंका लागे तुरुन्त परीक्षण गराउन र डेंगी रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले यस रोगलाई नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन, पानी जम्ने खाल्डो नराख्ने उनले आग्रह गरे ।

मेयरको डेंगी उन्मूलन अभियान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ डेंगी नियन्त्रण अभियानमा सक्रिय छन् । मेयर साम्पाङ डेंगी नियन्त्रणका लागि विभिन्न वडामा गएर अहिले ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत लामखुट्टे मार्ने कीटनाशक औषधि छर्किरहेका छन् ।

उनले आफ्नो अभियानमा स्थानीय र बालबालिकालाई साथमा लिएका छन् । भन्छन्, ‘हामी नेपालीसँग सबै कुराको ज्ञान छ । तर अभ्यास भने छैन । नगरपालिकाले गरिहाल्छ भनेर बसेकै कारण आज महामारी फैलिएको हो ।’

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा पनि डेंगी निको भएर नियमित काममा फर्किएका छन् । उपमेयर आइन्द्रबिक्रम बेघा आफैँ टर्चलाइट बोकेर मच्छर हुर्कन सक्ने क्षेत्रको सफाइमा हिँडिरहेका छन् ।