काठमाडौँ ।
मंगलबार बिहान काठमाडौँको कपन आसपासदेखि बल्खुसम्मको खोला आसपासका क्षेत्र डुबानमा परे । तर, यो कुनै नौलो र पहिलो पटक भएको घटना भने होइन । यो त यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाको हरेक वर्ष दोहोरिरहने नियति नै हो ।
देशको राजधानी रहेको स्थानको त यो हविगत छ भने देशका अन्य क्षेत्रको अवस्था के होला ? त्यो सहजै अनुमान गर्न सकिन्छ ।
कुरा काठमाडौँ खाल्डोकै गरौँ । बाग्मती, विष्णुमती, धोबीखोला, रुद्रमतीलगायत खोला काठमाडौँका विभिन्न क्षेत्र छिचोल्दै एकाकार भएर चोभार हुँदै उपत्यकाबाट बाहिरिन्छ ।
तर, वर्षामा उपत्यका बाहिरिनुभन्दा पहिले यसले वितण्डै मच्चाउँछ । आजभन्दा ३ दशक अघिसम्म यो स्तरको वितण्डा काठमाडौँमा देखिँदैनथ्यो ।
तर, अव्यवस्थित सहरीकरण र खोला नै मिचेर सडक बनाउने होडले यो परिस्थिति सिर्जना भएको हो भन्दा फरक नपर्ला ।
उपत्यकामा बग्ने यिनै खोलामा आउने बाढीका कारण बर्सेनि सयौँ घर परिवार समस्या भोग्न बाध्य हुने गरेका छन् भने करोडौँको क्षति हुँदै आएको छ ।
मंगलबारको बाढीपछि धोबीखोला छेवैमा रहेको मदन भण्डारी कलेज त बन्दै गर्नुपर्ने अवस्थामा पुग्यो । खोलाको पानी भरिएर सडक पार गर्दै पानी कलेजभित्रै पस्यो । अवस्था असहज भएपछि विद्यार्थीलाई घर पठाइयो ।
२०७५ सालमा त भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीमा मानिसहरूको उद्धार गर्न डुंगाकै प्रयोग गर्नुपरेको थियो । गाडी कुद्ने सडकमा डुंगा चलाउनुपर्ने अस्वाभाविक परिस्थितिले काठमाडौँ उपत्यकाको दयनीय विकास मोडालिटीलाई छर्लंगै पार्यो ।
वर्षाको समयमा पानी पर्दा शैक्षिक संस्थादेखि यातायात नै बन्द गर्नुपर्ने अवस्था आउनुले राजधानीलाई गिज्याइरहेको अनुभूति गराउँछ । साथै, देशको राजधानी कुन मोडमा विकास भइरहेको छ भन्ने पनि प्रष्ट पार्छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा पर्ने कपन क्षेत्रमा त हिउँदमै अलि ठुलो पानी पर्यो भने त्यहाँका स्थानीयको भागाभाग नै चल्छ । त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनिँदै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा त्यही खोला नियन्त्रण गर्छु भन्दै सधैँ भोट माग्छन् । तर, अवस्था ज्यूँका त्यूँ छ ।
उनकै पार्टी पटक-पटक सरकारमा गए पनि त्यसका लागि थापाले केही गर्न सकेका छैनन् । स्थानीय भने खोला नियन्त्रणमा थापाले कुनै चासो नदिएको आरोप लगाउँछन् ।
२०७९ सालमा थापाले धोबीखोला करिडोरको कपन-बूढानीलकण्ठ क्षेत्रको डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग भने गरेका थिए । तर, त्यो विषय त्यसै सेलायो ।
२०७९ साल भदौमा धोबीखोला करिडोरको कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रिया कार्यक्रममा थापाले ‘आफू त्यसै क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ आफूले सबैभन्दा धेरै गाली खाने गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनको उक्त अभिव्यक्तिलाई भने त्यहाँका स्थानीय भाषणको मेलो मात्रै भएको बताउँछन् । ‘२०६४ सालदेखि अहिलेसम्म यसै क्षेत्रबाट उनी सांसद चुनिँदै आएका छन् ।
यसबीचमा उनकै पार्टी कैयौँपटक सरकारमा पुग्यो,’ एक स्थानीय भन्छन्, ‘काम गर्ने इच्छाशक्ति भएको भए यत्तिका वर्षसम्म किन गरेनन् ? यो त भोट तान्ने मेलो मात्र हो । अरू केही होइन ।’
उता, काठमाडौँ महानगरपालिकाले तत्कालका लागि ‘बाढी पहिरो न्यूनीकरण संरक्षण समिति’मार्फत् बाढीबाट भएको क्षतिको विवरण संकलनदेखि उद्धारको काम गरिरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विकास टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार यसै समितिले महानगरभित्र बाढी न्यूनीकरण गर्न आवश्यक कदमका बारेमा अध्ययन पनि गर्ने आगामी दिनमा यस्तो अवस्था आउन नदिन आवश्यक कदम पनि चालिने बताए ।
काठमाडौँको बस्तीमा खोला पस्यो कि खोलामा बस्ती पस्यो ? भन्ने प्रश्न पनि अहम् देखिन्छ । यसै प्रश्नमा काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्था विभागका निर्देशक सुरज शाक्य काठमाडौँको बाढी नियन्त्रण गर्न सबैभन्दा पहिले खोलाको सीमांकन हुन आवश्यक रहेको बताउँछन् । काठमाडौँको बाढी नियन्त्रण महानगरको मात्र एक्लो प्रयासले सम्भव नरहेको उनको प्रतिक्रिया छ ।
यसका लागि केही दिनअघि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण, नापी कार्यालयलगायत निकायसँग महानगरले छलफल पनि गरेको थियो । छलफलमा काठमाडौँमा रहेका खोलाहरूको सीमांकन गर्ने विषयमा कार्यदल गठन भएको छ भने आवश्यक काम गर्नका लागि प्रारम्भिक सहमति भएको छ ।
नदी क्षेत्र अतिक्रमण भएर त्यसको बहाव क्षेत्र साँघुरिनु यसको मुख्य कारण देखिन्छ । अर्को कारणमा बस्ती बढ्दै जाँदा जमिनको पानी सोस्ने क्षमतामा ह्रास आउनु र वर्षाको पानी सीधै खोलामा जाँदा पनि बाढी आउने गरेको छ ।
शाक्यका अनुसार यसका लागि काठमाडौँ महानगरपालिकाले सम्बन्धित निकायमा प्रतिनिधि पठाइदिन पत्राचार पनि गरिसकेको छ ।
उपत्यकाभित्र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २०६६ सालदेखि नदी तथा खोलामा अतिक्रमण रोक्न नदीका दुवै किनारमा तटबन्ध निर्माणको काम सुरु गर्यो । तर, अहिले त्यही आयोजना बाढीको मुख्य कारण बन्दै गएको छ । अतिक्रमण रोक्न सुरु भएको आयोजनाले खोलाको चौडाइ घटाएर करिडोर बनायो । निर्बाध रूपमा बग्दै आएको खोला खुम्च्याउँदा त्यसको असर अहिले खोला किनारमा बस्ने बासिन्दाले भोगिरहेका छन् ।
उपत्यकामा मुख्य गरी बाग्मती र यसका सहायक तथा उपसहायक नदी/खोला विष्णुमती, मनोहरा, नख्खु, धोबीखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । वर्षाको समयमा यी सबै खोला उर्लिएरै बग्छन् ।
नदी क्षेत्र अतिक्रमण भएर त्यसको बहाव क्षेत्र साँघुरिनु यसको मुख्य कारण देखिन्छ । अर्को कारणमा बस्ती बढ्दै जाँदा जमिनको पानी सोस्ने क्षमतामा ह्रास आउनु र वर्षाको पानी सीधै खोलामा जाँदा पनि बाढी आउने गरेको छ ।
साथै, खोलानदीको पिँधमा माटो र बालुवा थुप्रिँदै जाँदा पनि पानी बस्तीमा पस्ने गरेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक उद्धव नेपाल बताउँछन् ।
उनी भन्छन्, ‘अरू देशमा पूर्वाधार तयार भएपछि बस्ती बस्छ, हाम्रोमा भने बस्ती बसेपछि पूर्वाधार बन्छन् । त्यसैले बाढी आउनुको मुख्य कारण भनेको अव्यवस्थित सहरीकरण नै हो ।’
यसका लागि तत्काल नदीको पाँगो माटो हटाउँदा पनि बाढी नियन्त्रण गर्न सकिने उनको बुझाइ छ ।
वर्षायाममा उपत्यका वरपर रहेका डाँडाहरूको पानी बगेर सीधै खोलामा नआओस् भनेर धाप क्षेत्रहरूमा १९८ वटा पोखरी बनाउने काम पनि अघि बढेको छ । त्यसका लागि स्थान पहिचान भइसकेको नेपालले बताए ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले अहिले २० बर्से बाग्मती कार्ययोजनाको प्रस्ताव अघि सारेको छ । यसको मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको छ भने रायसुझाव संकलन गर्ने काम भइरहेको छ ।
२१०० सालसम्मका लागि प्रस्ताव गरिएको उक्त कार्ययोजनाका लागि २ खर्ब ७८ अर्बको स्रोत आवश्यक देखिएको छ । मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएको अवस्थामा उपत्यकाको बाढी नियन्त्रण गर्न सकिने नेपाल बताउँछन् ।
प्रतिक्रिया