बाढी वितण्डा : २ जना बाढीसँगै बगे, गाेठालाे र खेतीमा गएका ७२ जनाकाे उद्धार

बाढी वितण्डा : २ जना बाढीसँगै बगे, गाेठालाे र खेतीमा गएका ७२ जनाकाे उद्धार


सर्लाही ।

सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ बाढीमा फसेका ७२ जनाको भने सकुशल उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।

लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

यसैबीच, बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने २ जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए ।

लगत्तै उनीहरूको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।