काठमाडाैँ ।
साउन सकिने बेलामा नेपालमा झरी परेकाे छ । देशका धेरै स्थानमा बाढी/पहिराेले वितण्डा मच्चाइरहेकाे छ । याे क्रम अझै बढ्ने सम्भावना रहेकाे सराेकारवालाले चेतावनी दिएका छन् ।
नेपालमा मनसुनी वायुको प्रभावका साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका १–२ स्थानमा पानी परिरहेकाे छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली भइरहेकामा मध्याह्यनपछि पानी पर्न थालिसकेकाे छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
सबैभन्दा धेरै पोखरामा १२०, सिमरामा ११६, जनकपुरमा ७४ र वीरेन्द्रनगरमा ७३ मिलिमिटर वर्षा भएको छ ।
प्रतिक्रिया