रामेछाप ।
रैथाने बालीको रूपमा रहेको सेतो सिमीको बजारमा उच्च माग भएपछि रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका किसानहरू यसको व्यावसायिक खेतीमा लागेका छन् ।
उच्च पहाडी क्षेत्रमा हुने सेतो सिमी गोकुलगंगा गाउँपालिकाको रस्नालु, ठोसे चुचुरे लगायतका क्षेत्रमा खेती हुने गरेको छ । त्यस्तै उमाकुण्डको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती र गुम्देलमा पनि यसको खेती हुँदै आएको छ । रामेछापका यी गाउँपालिकासँग जोडिएको ओखलढुङ्गाको खिजीदेम्बा तथा सोलुको लिखुपिके गाउँपालिकाका केही क्षेत्रमा पनि यसको राम्रो उत्पादन हुने गरेको छ ।
सेतो सिमीको बजार मूल्य पनि राम्रो भएपछि किसानहरू व्यवसायिक खेतीमा लागेका छन् । रामेछाप जिल्लामै सबैभन्दा बढी सेतो सिमीको उत्पादन गुम्देलमा नै हुन्छ । त्यहाँका किसानले वार्षिक लाखौँ रुपैँया सेतो सिमीकै बिक्रीबाट हुने गरेका उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावा तिण्डु शेर्पा बताउँछन् ।
राम्रो मूल्य पाउन लागेपछि किसानले खेती विस्तार गर्दै गएका छन् । ‘अहिले व्यापारीहरू सिमी किन्न गाउँमै आउँछन्, प्रतिपाथी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुन्छ, माग र मूल्य दुवै भएकोले किसानहरू उत्साहित छन्’, वडाध्यक्ष शेर्पाले भने ।
सो क्षेत्रको रैथाने बालीको रूपमा रहेको सेतो सिमी खेतीको अझै विकास र विस्तार गर्न सके सो क्षेत्रका नागरिकको आर्थिक अवस्था सुधार निक्कै सहयोग पुग्ने उमाकुण्ड–४ का जीतनारायण श्रेष्ठ बताउँछन् । उनी भन्छन्,‘परम्परागत तरिकाले गरिरहेको खेती प्रणालीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्नका लागि राज्यको तर्फबाट कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग आवश्यक छ ।’
सेतो सिमी काँचोमा कोषा तरकारीको रुपमा खान सकिन्छ भने फलेपछि यसको गेडा बिक्रि हुन्छ । यसको गेडाको दाल बनाएर वा सोझै उसिनेर पनि खान सकिन्छ । यसको दाल काठमाडौँ लगायतका सहरका ठुला होटेलमा समेत हिजो आज प्रयोगमा आउन लागेका छन् । यसले पनि सेतो सिमीकाको माग उच्च हुँदै गएको छ ।
प्रतिक्रिया