पहिरोले बगाएका ६ जनामध्ये २ जनाको शव बागमतीमा फेला

पहिरोले बगाएका ६ जनामध्ये २ जनाको शव बागमतीमा फेला


मकवानपुर ।

बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये २ जनाको शव आज फेला परेको छ ।

बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका अझै ३ जना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोमा परी हिजो १ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ ।