स्याङ्जामा पाेहाेरभन्दा कम राेपाइँ, सहरीकरण र युवकाे विदेश पलायनले उत्पादनमा असर

स्याङ्जामा पाेहाेरभन्दा कम राेपाइँ, सहरीकरण र युवकाे विदेश पलायनले उत्पादनमा असर


स्याङ्जा ।

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये ९० प्रतिशत भू-भागमा रोपाइँ सकिएको छ ।

साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाको १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये ३ प्रतिशत कम जमिनमा रोपाइँ भएको छ ।

पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ, समयमै पर्याप्त वर्षा नहुँदा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ हुने भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

खेतीयोग्य जमिनमध्ये गत वर्ष ९८ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो भने यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ हुने अनुमान गरिएको छ ।

‘जिल्लाको उपल्लो भागमा छिट्टै रोपाइँ गर्नुपर्ने मौसमी बाध्यता थियो । तर, समयमै वर्षा हुन नहुँदा केही जमिन बाँझै रहेका छन्,’ ज्ञान केन्द्रका प्रमुख विनोद हमालले भने, ‘बर्सेनि रोपाइँको क्षेत्रफल घट्दै गएको छ ।’

बढ्दो सहरीकरण, युवाहरू वैदेशिक रोजगारीमा जानु, मौसम प्रतिकूलतालगायत कारणले खाद्यान्न उत्पादन क्षेत्रफल अनुपात घट्दै गएको हमालले बताए ।

११ पालिकामध्ये हरिनाश गाउँपालिकामा रोपाइँ सकिएको छ । हरिनाशमा ९५ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम कालीगण्डकीमा ७० प्रतिशत रोपाइँ भएको छ ।

साउनको अन्तिम सातामा सबै पालिकामा रोपाइँका लागि तयारी अवस्थामा रहेका खेत तथा ब्याड रोपेर सकिने ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लामा १६ हजार बर्खे र २ हजार चैते धानखेती हुने भूभाग गरी १८ हजार हेक्टर धानखेती हुने क्षेत्रफल छ । हाइब्रिड जातका धानहरू बजारमा भित्रिए पनि स्थानीय कृषकले उन्नत जातको धान नै लगाउने गरेका छन् ।

हाइब्रिडमा छिट्टै रोगले आक्रमण गर्ने भएकाले कृषकहरू उन्नत जातको धानमा आकर्षित छन् । सावित्री, सुनौलो सुगन्धलगायत उन्नत जातका धान नै कृषकले लगाउँदै आएको केन्द्रले जनाएको छ ।

उन्नत जातको धानका लागि जिल्लामा १५ वटा बिउ उत्पादक समूह छन् । समूहले उत्पादन गरेका उन्नत जातका धान अन्य जिल्लामा समेत निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा अझै १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायत धान रोप्ने गरिएको छ भने १५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड लगाउने गरिएको छ ।

जिल्लाका कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला किनार, चापाकोट फाँट, सेतीदोभान र बिरुवा फाँट धान खेतीका उर्बर क्षेत्र हुन ।

यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार, वालिङ नगरपालिका, रत्नपुर, मल्याङकोट, चिन्नेबास, बिर्घा, अर्जुनचौपारी, तुलसी भन्ज्याङ, जगत भन्ज्याङ, गल्याङ पनि धानका लागि प्रमुख उत्पादक क्षेत्र हुन् ।