२ कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्, छानबिन समिति गठन

२ कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्, छानबिन समिति गठन


संखुवासभा ।

जिल्ला कारागार खाँदबारीमा बुधबार २ कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् ।

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलांगी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए।

कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् ।

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ । कैदीको मृत्यु पछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका ९ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलांगीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना एक वर्षदेखि यहाँको कारागारमा थिए ।

छानबिन समिति गठन

जिल्ला कारागारमा बुधबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ ।

जिल्ला कारागारमा हाल ८ महिलासहित १३८ कैदीबन्दी छन् ।