टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि


गोरखा ।

गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।

विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो ।

ढुंगाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिइन् ।

भूगर्भविद्को टोलीले टल्कने ढुंगाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा भण्डारीले जानकारी दिइन् ।

कडापनका आधारमा हीरा १०औँ नम्बरमा पर्ने उनको भनाइ छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा भण्डारीले जानकारी दिइन् ।

‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा भण्डारीको भनाइ छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उनले जानकारी दिइन् ।

टल्कने ढुंगाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुंगाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो ।

अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमाफृत आग्रह गरिएको छ ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुंगा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुंगा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् ।

टल्कने ढुंगा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा संघसंस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ ।