दोगाडीघाटमा अस्थायी मोटरेवल पुल बनेपछि बर्खामा पनि मोटर कुद्ने

दोगाडीघाटमा अस्थायी मोटरेवल पुल बनेपछि बर्खामा पनि मोटर कुद्ने


बागलुङ ।

ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो ।

तर अहिलेसम्म पक्की मोटरेवल पुनःनिर्माण हुनसकेको छैन । मोटरेवल पुल निर्माण नहुँदा ताराखोला र म्याग्दीका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ।

हिउँदमा यातायातका साधान सहजै वारपार गर्न सके पनि बर्खामा पानीको बहाव बढ्दा सिधा यात्रा हुन सक्दैनथ्यो । बर्खा लाग्ने वित्तिकै गाडी रोकिन्थे । तर अहिलेको बर्खामा भने गाडी नियमित सञ्चालन भइरहेका छन् ।

गाउँपालिकाको लगानी र स्थानीयवासीको जनश्रमदानबाट अहिले दोगाडीघाटमा अस्थायी मोटरेवल पुल बनेको छ । अस्थायी मोटरेवल पुल निर्माण भएपछि सवारी साधनको ओहोरदोहारमा सहजता भएको छ ।

१० वर्ष अगाडि निर्माण भएको मोटरबाटोमा यस वर्षको बर्खामा गाडी गुड्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । असारको सुरुवातदेखि नै खोला बढेपछि करिब ४ महिना यातायात सञ्चालन हुँदैनथ्यो ।

बर्खामा गाडी नचल्दा स्थानीयवासीले निकै समस्या झेल्दै आएका थिए । अस्थायी पुलले ताराखोला र म्याग्दीका नागरिकको दैनिकीसमेत फेरिन थालेको स्थानीयवासी व्यवसायी रणबहादुर रोकाले बताए ।

उनले पुल नहुँदा गाउँमा उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरण गर्न र बजारबाट सामान ढुवानी गर्न समस्या भएको स्मरण गर्दै अहिलेको बर्खामा सहज भएको बताए।

९ मिटर लामो र ४ मिटर चौडाइ रहेको अस्थायी पुलमा दुवैतर्फ ८ फिट ढलाल वाल उठाइएको छ, भने फलामका ४ वटा च्यानल प्रयोग गरी त्यसमाथि काठ राखेर पुल निर्माण गरिएको छ । पुल निर्माणपछि नागबेली खोलाका विभिन्न स्थानमा सवारीसाधन आवतजावत गर्न भइरहेको छ ।

दोगाडीघाटबाट नागबेलीखोला हुदै म्याग्दीको मंगला गाउँपालिकासम्मको यात्रा पनि सहज भएको छ ।