खेतमा बाढी पसेपछि स्थानीयले भत्काए सिँचाइको पक्की बाँध

खेतमा बाढी पसेपछि स्थानीयले भत्काए सिँचाइको पक्की बाँध


फाइल फोटो

बारा ।

बाराको आदर्श कोतवाल गाउँपालिकाको च्युटाहामा खेतमा बाढी पसेर धानबाली क्षति पुर्‍याएपछि स्थानीयले सिँचाइको लागि जमुनी नदीमा हालै निर्माण गरिएको पक्की बाँध भत्काएका छन ।

अविरल वर्षापछि जमुनी खोलमा आएको बाढी सिँचाइ बाँधको कारण खेत र बस्तीतर्फ प्रवेश गर्न थालेपछि किसानले बुधबार बिहान बाँध भत्काएका हुन् । बाँध जमुनी नदीको धार परिवर्तन भएपछि च्युटाहा, बतरा, खजुरिया, भङ्गहा, ईनर्वा, बोहा लगायता गाउँहरुमा सयौँ बिघामा लागाइएको धान र अन्यबाली डुबानमा परेको छ । बाढीले दर्जनौं बिघा खेत बगरमा परिणत भएको छ ।

स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन भनेर मधेस प्रदेशका मुख्यमन्त्री एवंम सोही क्षेत्रका प्रदेश सभा सदस्य सरोजकुमार यादवको पहलमा एक साताअघि मात्रै सो बाँधको निर्माण कार्य पूरा भएको थियो ।

बाँध निर्माण भएपछि जमुनी नदीले गरेको धार परिवर्तनले स्थानीय कृषकहरुको खेत कटान गर्नुको साथै खेतमा बालुवा थुपार्ने र धानबाली डुबान गर्ने समस्या उत्पन्न भएको थियो ।

बाँधका कारण किसानले खेतबारीमा लगाएको बालीमा क्षति गरेपछि बाध्य भएर सिँचाइ बाँध भत्काउनु परेको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ च्युटाहाका दिनेशप्रसाद पटेलले जानकारी दिए ।