सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब


काठमाडौं ।

सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड १ लाख पुगेको छ ।

उक्त रकममध्ये ७१ अर्ब ५ करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामार्फत जानकारी दिइएको हो ।

बाँकी ६अर्ब ५५ करोड ४० लाख भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण प्रस्तुत गरिएको छ ।

कल्याणकारी कोषले सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दस लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आएको छ ।

कल्याणकारी कोषमार्फत सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तार तथा स्तरोन्नतिका कार्य भइरहेका छन् ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो ।

हाल विश्वका १३ वटा शान्ति मिसनमा ५ सय ६५ महिलासहित ६ हजार ७३ जना नेपाली शान्ति सैनिक खटिएका छन् । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही १ लाख ४५ हजार ८१३ नेपाली शान्ति सैनिकले योगदान पु¥याइसकेका छन् ।

सोही क्रममा ७३ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गर्नाका साथै ६६ जना सख्त घाइते भएका थिए ।