कैलाली बाढी : २३ सय परिवार विस्थापित, ९ सय बढी परिवारको सडकमा बास

कैलाली बाढी : २३ सय परिवार विस्थापित, ९ सय बढी परिवारको सडकमा बास


कैलाली ।

सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ ।

बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण २ हजार ३०० परिवार विस्थापित भएका ९ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।

टीकापुर नगरपालिकामा ३१६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा २ सय २६ र ७ का ९० गरी ३ सय १६ घर डुबानमा पर्दा २ सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ ।

जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ ११५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ ।

बाढीले सबैभन्दा बढी क्षति भजनीमा गरेको छ । भजनीकी राजकुमारी चौधरीको परिवार ३ दिनदेखि हुलाकी सडकमा छ । “तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उनी भन्छिन्, “बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।”

छविराम पोखरेल परिवार पनि ३ दिनदेखि सडकमा छ । गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उनका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । “बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनी भन्छन्, “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।”

बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गछिन् ।

भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ । स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताए ।

भजनी नगरपालिकाका प्रमुख केबल चौधरी बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताउछन् ।

बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन् । यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ ।