कागती फलाएरै लखपति बनेका अन्जित

कागती फलाएरै लखपति बनेका अन्जित


दाङ ।

५ वर्षअघि निल काँडा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् ।

गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । ३४ वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गरेका छन् । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताए । २०७४ सालमा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उनी सम्झन्छन् ।

धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती–१ र सुन कागती–२ का ३ हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा ५ हजारको हारहारीमा कागतीका बोट रहेका जानकारी दिए । गत वर्ष २ क्विन्टल भन्दाबढी कागती बिक्री गरेका उनले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताए ।

उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्ममा बिक्री गरिरहेको जानकारी दिए । जग्गा प्रयोग गरेबापत उनले अहिले वार्षिक २ लाख रुपैयाँ भाडा तिरिरहेका छन् । उनले कागती खेती गर्न थालेको ५ वर्ष भएको छ र, यसबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । चौधरीका अनुसार यहाँ २ जनाले पूर्ण र ७ जनाले आंशिक रोजगारी पनि पाएका छन् ।

‘अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवन बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्’, उनले भने, ‘गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।’

‘बाबुबाजेले धान, मकै, गहुँखती गरे र कृषि क्षेत्रमा नै रमाएर बसे । अहिले क्याम्पसमा पढ्दै परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ’, चौधरीले भने, ‘सफल पनि भएको छु । यतिधेरै लगानी गरेर बगैँचा बनाइसकेँ अब कहाँ गएर यो खेती गरुँ ?’ यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले ३ लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले २ लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो ।

उनको कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठुलो रहेकाले कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरू आउने गरेका उनले जानकारी दिए ।

नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ छ ।कृषि प्रधान हाम्रो देशमा कृषिमा अत्यन्तै सम्भावना रहेको भन्दै उनले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाए ।

यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले सुनाउँछन् । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने उनको तयारी छ ।

चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई रोक राज्यले आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव पनि दिएका छन् । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्ने उनको माग छ ।

युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रित योजना उपलब्ध गराउन सके वैदशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउनेमा चौधरीको निश्चिन्त छन् ।