१ करोडको लागतमा शिखरकटेरीमा भानुभक्तकालीन घर बनाइँदै

१ करोडको लागतमा शिखरकटेरीमा भानुभक्तकालीन घर बनाइँदै


तनहुँ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ ।

हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ ।

भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो ।

भानुभक्तकालीन घर निर्माणका लागि करिब १ करोड खर्च हुने मञ्चले जनाएको छ । उक्त घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ ।

भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुंगाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने छ । हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ ।

मञ्चले ७ वर्ष पहिले २०७३ सालमा ६८ लाख लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो । तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको मञ्चले बताएको छु।

भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब १ लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुनःनिर्माण गरेको थियो ।

विसं २०६० मा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

भानुजन्मस्थल विकास समिति मातहात कार्यालय परिसरमा ४ रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करिब २ करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन । शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ ।

राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा विकास समितिको बजेट चालुतर्फ १५ लाख र पुँजीगततर्फ २५ लाख मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् ।