२८० जनाको क्षमता रहेको कारागारमा ७६० जना कैदीबन्दी, त्रिपालमुनि बास

२८० जनाको क्षमता रहेको कारागारमा ७६० जना कैदीबन्दी, त्रिपालमुनि बास


चितवन-  झमझम पानी परिहँदा यहाँको कारागारमा रहेका कैदीबन्दी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् ।

दिनको चर्को घाममा समेत उनीहरुको बसाइ पालमुनि हुने गरेको छ ।

चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् भने बर्षात्का कारण उनीहरुलाई झनै समस्या हुँदै आएको छ । पक्की संरचनामा कैदीबन्दी नअटेपछि उनीहरुलाई बाहिर त्रिपालमुनि र पालीमा राखिएको हो ।

कारागार कार्यालय चितवनका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा अहिले ७६० जना कैदीबन्दी रहेका छन् ।

उनीहरुसँग आश्रित ५ जना बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ । जसमध्ये २ सय ५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा सात सय १३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना रहेका छन् । महिलाहरुसँगै आश्रित बालबालिका रहेका छन् ।

ठाउँ साँघुरो भएपछि ५० जना पुरुष कैदीबन्दीलाई पालमुनि राखिएको छ । त्यति नै संख्या हाराहारी पालमुनि रहेका छन् ।

ओढाएको त्रिपाललाई भुइँसम्म झारेर ढुंगाले किचेर पानी पस्नबाट रोक्ने प्रयास गरिएको छ । यद्यपि सुतेको ठाउँमा पानी पस्ने गर्दछ । उनीहरु भुइँमा सुत्ने हुँदा गर्मीमा सर्प दंशको समेत जोखिम हुने गरेको छ ।

मुख्य सहरी क्षेत्रको साँघुरो ठाउँमा कारागार रहेको छ । कारागारलाई सहरभन्दा केही पर नयाँ संरचना बनाएर स्थानान्तरण गर्ने योजना रहेको भए पनि काम हुन नसक्दा कैदीबन्दीले थप कष्टकर जीवन बिताउन बाध्य छन् । कारागारका कर्मचारीहरुलाई कैदीबन्दीको व्यवस्थापन जटिल बन्दै गएको छ ।