खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय


कञ्चनपुर ।

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।

भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताए । व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै समस्या छ ।

यहाँका व्यापारीले शौच गर्नका लागि आफैँले अस्थायी शौचालय निर्माण गरेका छन् । बर्सातमा मिनी मार्केट रहेको क्षेत्र डुबानमा पर्ने हुनाले शौचालय जानै मुस्किल पर्ने गरेको छ ।

मिनी मार्केटमा ४३ व्यवसायीले व्यवसाय सञ्चालन गरेका छन् । पटकपटक आग्रह गर्दा पनि भीमदत्त नगरपालिकाले शौचालय निर्माण नगरेको जनाउँदै उनीहरुले विरोधस्वरुप स्थानीय तहलाई कर तिरेका छैनन् ।

यहाँ व्यापार गरेबापत स्थानीय तहलाई प्रत्येक दिन व्यापारीले ५० कर तिर्दैै आएका थिए । विसं २०७४ पुसमा कञ्चनपुर जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको छ वर्ष बित्नै लाग्दा पनि अझै महेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैन ।

अर्कोतर्फ बजार क्षेत्रमा भएका शौचालय पनि मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् । सार्वजनिक शौचालय फोहरले दुर्गन्धित रहेको सर्वसाधारणको गुनासो छ ।

खुला दिसामुक्त घोषणा भएको जिल्लाको बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण खुला ठाउँमै शौच गर्न बाध्य छन् । जसले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको र रोग फैलिने जोखिम बढेको छ ।