युवाले गरे भोजपुरको मुख्य बजारको सडक मर्मत

युवाले गरे भोजपुरको मुख्य बजारको सडक मर्मत


भोजपुर।

बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ ।

दैनिकजसो सयौँको संख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाको अगुवाइका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी र बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।

बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भइरहेको भए पनि हाल बाटो बिग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकाले बजारवासीलाई सहज आवागमनका लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले बताइन् ।

सडकका कारण आवतजावतमा समस्या भएपछि आफुले व्यक्तिगतरुपमा सडक मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।

“यहाँको ढल व्यवस्थापनको काम भइरहेको छ, त्यसलाई पर्खेर बस्दा समय लाग्ने भएकाले सडक मर्मत गरेका छौँ, सडक मर्मतका लागि आवश्यक पर्ने सामग्री मैले व्यक्तिगत रुपमा सहयोग गरेकी छु ।” उनले भनिन् ।

दैनिकजसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए ।

श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गु तथा आँखा पाक्ने रोगबाट बच्नका लागि अनपाउन सन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले जानकारी दिए । त्यस्तै बजार क्षेत्र आसपासको सरसफाइ गरिएको उहाँको भनाइ छ ।

श्रमदान अभियानमार्फत डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो । केही समयअघि भोजपुरको टक्सारमा एक युवा ५ बिरुवा अभियानअन्तर्गत वृक्षरोपणको काम गरेको संघले जनाएको छ ।