भदौ १ देखि महानगरभित्र दर्ता नभएका टिकट काउन्टर हटाइने

भदौ १ देखि महानगरभित्र दर्ता नभएका टिकट काउन्टर हटाइने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिंग कार्यालय हटाउने भएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिंग कार्यालय भदौ १ देखि हटाउने भएको हो ।

महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप टिकट बुकिंग कार्यालयसहित व्यावसायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्यरुपमा दर्ता गर्नसमेत आग्रह गरेको छ ।

महानगरपालिकाले टिकट बुकिंग कार्यालय सडक चोकको सय मिटर वरपर खोल्न नपाउने, बुकिंग कार्यालयको मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र वाफलसम्म कुनै पनि बुकिंग कार्यालय खोल्न नपाउने बताएको छ ।

यस्तै, बुकिंग कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको वोर्ड राख्नुपर्ने, बुकिंग कार्यालयमा टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने व्यवस्था) भएको हुनुपर्ने उल्लेख छ ।

यसैगरी, बुकिंग कार्यालयको कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, बुकिंग कार्यालयका कर्मचारीले पोशाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्ने र बुकिंग कार्यालयमा बुकिंग हुने सवारी साधन लैजान नपाउने व्यवस्थासमेत गरेको छ ।

यसअघि महानगरपालिकाले काठमाडौंभित्र जथाभावी रुपमा टिकट बुकिंग कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।