नेपालकै ठुलो कागज कारखाना भेन्टिलेटरमा राखिएको बिरामीजस्तै !

नेपालकै ठुलो कागज कारखाना भेन्टिलेटरमा राखिएको बिरामीजस्तै !


नवलपरासी ।
बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ ।
नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले ४ दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले  भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् ।
उद्योग बन्द भएपछि उद्योगको छानो तथा बारेका टिनका पाता खसेका छन्, पर्खाल भत्किएका छन्, उद्योगभित्र झाडी बढेको छ, हेर्दै डरलाग्दो ठाउँ बनेको छ ।भृकुटी कागज कारखाना रहेको ठाउँ अहिले अपराध गरेर मान्छे लुक्ने ठाउँका रूपमा परिणत भएको छ । उद्योग पूर्णरूपमा बन्द भएको ११ वर्षभन्दा बढी भइसकेकाले उद्योगका सबै सामान कबाडी बनेको छ ।
सरकारले उद्योग बिक्री गर्दा उद्योग, आवाससहित भृकुटीको नाममा करिब ६० बिघा जमिन रहेको थियो । भृकुटी कागज कारखाना ३० बिघा क्षेत्रफल तथा आवास २२ बिघा क्षेत्रफलमा फैलिएको र बाँकी ८ बिघा जमिन गोल्छाले टेक्सटायल कम्पनीलाई बिक्री गरेको थियो ।
उद्योग पूर्णरूपमा बन्द भएको समय विसं २०६९ मा उद्योगमा करिब ७ सय कर्मचारी कार्यरत रहेका थिए । उद्योगमा रहेको ३३३ जना स्थायी कर्मचारीको पारिश्रमिक लिन बाँकी छ । एक जना कर्मचारीले कम्तीमा ५ लाखदेखि बढीमा ४० लाखसम्म पाश्रिमिक लिन बाँकी रहेको स्थानीय बताउछन् उद्योगले कर्मचारीलाई मात्रै तिर्नका लागि ३५ करोड हाराहारीमा बाँकी रहेको छ ।
उद्योगको सुरक्षामा खटिएका कर्मचारीले उद्योग सञ्चालकहरू कहिलेकाहीँमात्रै गैँडाकोट आउने गरेका छन् । उद्योग र आवासको सुरक्षामा अहिले पनि १५ जना कर्मचारी कार्यरत छन् । उद्योगमा ताला लगाएर राखिएको छ भने उद्योगका सबै सामान खिया लागेर काम नलाग्ने भएका छन् । भवन पनि जीर्ण भएको छ ।
ती सुरक्षा कर्मचारीका अनुसार उद्योग छाएका जस्तापाता तथा फलामका छड खसेपछि घाम र पानीका कारण उद्योगका औजार कामै नलाग्ने भएका छन् ।
भृकुटी पीडित मजदुर संघर्ष समितिका संयोजक दर्शन सापकोटाले उद्योग बन्द भएपछि व्यवस्थापन पक्षसँग पटकपटक वार्ता र छलफल भइरहेको बताए । पीडित कर्मचारीलाई पाश्रिमिक नदिने बेलासम्म उनीहरुको मासिक तलबको आधा हुन आउने तलबसमेत हरेक महिना जोड्दै गएर एकमुष्ट भुक्तानी गर्नेगरी सम्झौता भएको सापकोटाले बताए ।
उद्योग बन्द हुने बेलामा नै उसको बैंक तथा स्थानीय सप्लायर्सलाई तिर्नुपने रकम धेरै भएको सापकोटाको भनाइ छ । उद्योगले नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, हिमालय बैंक लिमिटेडको कर्जा पनि तिर्न बाँकी रहेको छ । व्यवस्थापनले भुक्तानी गर्न जति ढिलाइ ग¥यो त्यति नै उद्योग दलदलमा फस्दै जाने सापकोटाको भनाइ छ ।
दिवाकर गोल्छाले सञ्चालन गर्दै आउनुभएको भृकुटी कागज कारखाना उनको स्वर्गारोहणपछि अहिले ‘दिवाकर गोल्छा कर्प’ नामको संस्थाको मातहतमा रहेको छ । दिवाकर गोल्छा कर्पका सञ्चालक एवं दिवाकरका पुत्र हितेश गोल्छाका निकट मानिने कर्पका प्रतिनिधि रमेश दाहालले सो उद्योग ग्लोबल टेन्टरमार्फत गोल्छा समूहले  १७ करोडमा खरिद गरेको बताए।
गोल्छा समूहले भृकुटी कागज कारखाना  १७ करोडमा खरिद गरेको भनिएको कारखाना बिक्रीबाट तत्कालीन श्री ५ को सरकारले १२ करोड ९८ लाखमात्रै हात पारेको जानकारहरु बताउँछन् ।
उद्योग निजीकरण भएपछि विसं २०५१ देखि नै उद्योग सञ्चालनका लागि ऋण लिएर काम गर्दै आएकामा उद्योग बन्द हुने बेला विसं २०६९ सम्म उद्योगको ऋण ८२ करोड जति पुगेको छ ।