कहिले विस्तार हुन्छ मुग्लिन–पोखरा सडक ? दमाैलीमा थप १५५ घर भत्काउने तयारी

कहिले विस्तार हुन्छ मुग्लिन–पोखरा सडक ? दमाैलीमा थप १५५ घर भत्काउने तयारी


तनहुँ ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो।

यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो। दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो। अब धमाधम काम अगाडि बढ्छ,’ उनले भने।

आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्यांकन हालैमात्र भएको छ। दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ।

यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा हालसम्म ३५० घरटहरा भत्काइसकिएको छ। घरटहरा भत्काउँदा २६ करोड रुपैयाँ मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले जानकारी दिए।

व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ।

एउटा खण्डको प्रगति ३१ प्रतिशत

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले २ खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको छ। यो खण्डमा काम सुस्त छ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ। पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

४१.४५ किमी यो खण्डमा ३ ठुला र ४ साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म छ। सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।

२०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म छ।

४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।