सरकारले तालिमका नाममा बजेट छर्‍यो, सीप केही सिकाएन : अध्यक्ष श्रेष्ठ

सरकारले तालिमका नाममा बजेट छर्‍यो, सीप केही सिकाएन : अध्यक्ष श्रेष्ठ


काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले तालिमका नाममा मन्त्रलयहरूमा बजेट छरेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले तालिमका नाममा कनिका जस्तो बजेट छर्दा लक्षित वर्गले अवसरबाट वञ्चित हुन पुगेको बताएका हुन् ।

सरकारले छुट्याएको बजेटलाई प्रभावकारी र लक्षित वर्गसम्म पुर्‍याउन त्यसलाई उद्योग वाणिज्य संघअन्तर्गत ल्याउनुपर्ने तर्क गर्दै उनले भने,‘राज्यले तालिमका नाममा कनिका छरेको जस्तो ३/४ वटा मन्त्रालयमा तालिम गर्ने भन्दै कहिले युवामा, कहिले महिलामा र उद्योगमा बजेट छरेर राखेको छ । हामीलाई सीपको खाँचो छ भन्ने उद्योग वाणिज्य संघ र जिल्ला, नगर, वस्तुगत वाणिज्य संघहरूलाई त्यो पैसा उपलब्ध गराइदिनुभयो भने तालिम लिनेलाई रोजगार दिने जिम्मा पनि हामी लिन्छौँ ।’

मन्त्रालयहरूको भागबन्डाले सरकारले ट्रेनिङका नाममा खर्च गरेकाे बजेटको सही उपयोग नभएको उनको तर्क छ ।

श्रेष्ठले राज्यले खर्च गरेर दिएको ट्रेनिङ लिएकाहरूको यकिन विवरण पनि नभएको भन्दै आफूहरूलाई बजेटको अधिकार दिए त्यसलाई पारदर्शी बनाएर लैजाने दाबी गरे ।

‘एउटै व्यक्तिले ५ पटकसम्म टे्रनिङ लिएको छ । त्यो टे्रनिङ दिने मान्छे कहाँ छन् भन्ने कुरा खोज्न पनि सक्दैन । हामी तपाईंलाई ग्यारेन्टी दिन्छौँ, ट्रेनिङ लिने मानिस कहाँ छन् ? कति छन् ? कसरी टे्रनिङ गरेको छ भन्ने विवरण दिन्छौँ । त्यसका लागि उद्योग वाणिव्य संघ काठमाडौँ तयार छ,’ श्रेष्ठले भने ।

श्रेष्ठले सुनचाँदी, जुत्ता, टेलरिङ तथा अन्य विधाका विभिन्न क्षेत्रलाई समेटेर तालिम गराउने भन्दै मन्त्रालयगत रूपमा राज्यले पैसा छर्ने काम बन्द गर्नुपर्ने बताए ।

त्यस्तै उनले सरकारले साना क्षेत्रमा व्यापार व्यवसाय गरिरहेकाबाट १३ प्रतिशत भ्याट लगाएर उद्योगीलाई प्रताडित गर्ने काम गरेको र विरोधपछि पछि हट्न बाध्य भएको स्मरण गर्दै सरकारलाई राजनीतिमा अल्मलिनु भन्दा आर्थिक क्षेत्रलाई चलायमान गर्नतर्फ लाग्न आग्रह गरे ।

उनले भने, ‘तपाईंहरू राजनीतिमा अल्मलिनु भएको छ । राजनीतिमा अल्मलिनु तर सँगसँगै आर्थिक क्षेत्रलाई माथि लिएर जानुस्, आर्थिक क्षेत्रलाई एउटा राम्रो स्किल दिनुस् ।’