इलामको पशुपति सामुदायिक वनका अध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इलामको पशुपति सामुदायिक वनका अध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमार बहादुर बराइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

प्रक्रिया नपुर्‍याएको, प्राविधिक विल भरपाई नराखी आफू अनुकूल कागजात तयारी गरेको, कार्यक्रम नभएको स्थानमा पुल निर्माण गरेको तथा कागजात किर्ते गरेर सरकारी रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वन उपभोक्ता समूहका अध्यक्ष बराइलीविरुद्ध १५ लाख पाँच हजार ९३० रुपियाँ बराबरको बिगो रकम माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

यस्तै, उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र सोही समूहका तत्कालीन कोषाध्यक्ष राम कुमारी खत्रीविरुद्ध ४ लाख रुपियाँ बिगो रकम माग गरिएको छ ।

वन उपभोक्ता समूहका उपभोक्ता रस्मिता बराइलीविरुद्ध ४ लाख रुपियाँ बिगो दाबी गरिएको छ भने दर्तावाला लेखा परीक्षक चन्द्रबहादुर बस्नेतले नभएका कुरा देखाइ लेखा परीक्षण गरेकाले सोही बमोजिम जरिवाना हुन माग दाबी गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, वन उपभोक्ता समूहका तत्कालीन सचिव राम बहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध ११ लाख पाँच हजार ९३० रुपियाँ बिगो माग दाबी गरिएको आरोपपत्रमा उल्लेख छ ।