सप्तकोसीमा ३४ वर्षपछिको उच्च बाढी, नारायणी नदीले सतर्कता तह पार गर्‍याे

सप्तकोसीमा ३४ वर्षपछिको उच्च बाढी, नारायणी नदीले सतर्कता तह पार गर्‍याे


सुनसरी  ।

सुनसरीस्थित सप्तकाेसी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिए।

उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकाेसीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् । उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।

आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।

यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिइन् ।

यस्तै नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ ।

देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।