महानगरले प्रकाशन गर्‍याे छात्रवृत्ति पाउने विद्यार्थीकाे सूची, कुन विषयमा कति जनाले पाए ?

महानगरले प्रकाशन गर्‍याे छात्रवृत्ति पाउने विद्यार्थीकाे सूची, कुन विषयमा कति जनाले पाए ?


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले कक्षा ११ का लागि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नाम सार्वजनिक गरेकाे छ। महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको हो ।

महानगरका मेयर बालेन शाहका अनुसार विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इन्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले छात्रवृत्ति पाएका छन् ।

यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिने महानगरले तयारी गरेको छ । ‘साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरूलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्था सिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नम्बर, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्‍याङ्क), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ,’ सूचनामा भनिएकाे छ ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘क्याटगोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ। सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ । यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कुल टाइपमा एसइई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ।’

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तहसम्मकाे शैक्षिक अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने चाहना रहेको भन्दै महानगरले पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना हुन अपिल गरेको छ। यसपछि महानगरले भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्नेछ ।

छात्रवृत्ति कोटाबाट आएका विद्यार्थीहरूलाई भर्नाका लागि सहजीकरण गरिदिन महानगरले आफू मातहतका शैक्षिक संस्थालाई आग्रह गरेको छ ।