बाढीले २ वटा झोलुंगे पुलमा क्षति, आवतजावत ठप्प

बाढीले २ वटा झोलुंगे पुलमा क्षति, आवतजावत ठप्प


धादिङ ।

त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने २ वटा झोलुंगे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् ।

किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् ।गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुंगे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौँ चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ ।

यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिए । पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोरांग गाउँपालिका बासिन्दालाई समस्या भएको छ ।

बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ । पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन् ।

गोरखाबाट धादिङको बेनीघाटस्थित शंखादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए ।उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ ।

लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुल क्षति भएको छ । यस्तै धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुंगघाटको झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ ।

दुवै पुलका केही डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ । बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ ।अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुंगे पुलको ट्रस्ट नै बगाएको छ । धवादीघाटमाथिको झोलुंगे पुलको भने बाढीले लठ्ठा छिनेको छ ।