काभ्रेमा ५ अर्बको लगानीमा ५ ठूला खानेपानी आयोजना, ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुग्ने

काभ्रेमा ५ अर्बको लगानीमा ५ ठूला खानेपानी आयोजना, ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुग्ने


काभ्रे ।

बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ ।

परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ ।

आयोजना सम्पन्न भएपछि ३ नगरका करिब ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउनेछन् । गत वर्षको चैतसम्ममा तीनै नगरमा स्थानीयका घरघरमा चौबिसै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण केही समय लम्बिएको छ ।

३ नगरका नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो ।

सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब १ अर्बमा सम्पन्न हुने जनाइएको छ ।

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले केही महिनामा आयोजनाको काम पूर्णरुपमा सम्पन्न हुने बताए ।

आयोजनाको भण्डारण ट्यांकी निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै पनौतीको शारदादेवीस्थानमा पानी पु¥याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ ।

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ ।

यस्तै पाँचखाल नगरमा सात हजार परिवारलाई खानेपानी पुर्‍याउने  लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ । आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका ७ हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको हो ।

परियोजनाको २०७६ साल भदौ १२ गते २०७९ पुस महिनाभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो ।

नगरको १३ मध्ये १० वटा वडाका लागि यस खानेपानी आयोजना सञ्चालनार्थ १ अर्ब ३४ करोड ६६ लाखमा हुवाई कन्काई जेभीसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको सर्तानुसार कूल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख उपभोक्ताले जम्मा गरेका थिए ।

हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत काम सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ ।

प्रतिघण्टा ३ लाख २ हजार ४०० लिटर पानी तान्न सहज ढंगबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । हालको अवस्थामा प्रतिधारा दैनिक १ हजार एक लिटर पानी आउने छ । दैनिक प्रतिव्यक्ति १९२.५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ ।

काभ्रेमा सञ्चालित अर्को ठूलो तेमाल बृहत् खानेपानी आयोजनाद्वारा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइँदैछ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसक्दा आयोजना करिब १ वर्ष धकेलिएको छ ।

हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेको तथा अबको ३ महिनापछि घरघरमा खानेपानी पुर्‍याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको समितिले जनाएको छ ।प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजना खानेपानी विभागमार्फत १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको थियो । आयोजनाअन्र्तगत दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनेको छ ।

यता मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याइँदैछ । लिफ्टिङ प्रविधिमार्फत खानेपानी उपलब्ध गराउन लागिएको उक्त आयोजनाको २०७८ असारमा निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल ७५ प्रतिशत काम सकिएको छ।

आयोजना ३ वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने देखिएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड, स्थानीय उपभोक्ताबाट संकलित तथा नगरको लगानीसहित १ अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हाल ५ ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । केही भर्खरै सञ्चालनमा आएका र केही निर्माण अन्तिम चरणमा पुगेका सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला नै हुन् ।

नदी–खोला किनारमा ठूला इनार बनाई पानी संकलन गर्ने र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीमा वितरण गर्ने गरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।

गोरखा भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला नै खानेपानीको स्रोत बनाइएको हो । प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माण भइरहेका छन् ।