प्रधानमन्त्रीले बाेलाएका कार्यक्रम बहिस्कार गर्दै आएका बालेन पुगे सिंहदरबार

प्रधानमन्त्रीले बाेलाएका कार्यक्रम बहिस्कार गर्दै आएका बालेन पुगे सिंहदरबार

काठमाडाैँकाे सुकुमबासी समस्या र तीनकुनेको जग्गाकाे मुआब्जाकाे विषयमा छलफल


काठमाडाैँ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडाैँ उपत्यकाकाे फोहोर व्यवस्थापनसम्बन्धी छलफल गर्न बोलाएको बैठकमा नगएका काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह मंगलबार भने सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटैका छन् ।

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै भेट्न नमानिरहेका मेयर बालेन आज सिंहदरबारमा प्रधानमन्त्रीले बाेलाएका बैठकमा पुगेका हुन् । यससँगै बागदरबार र सिंहदरबारबीचकाे चिसिएकाे सम्बन्धमा सुधार आएकाे छ ।

मंगलबार सिंहदरबारमा भएकाे छलफलमा काठमाडाैँकाे सुकुमबासी समस्या र तीनकुनेको जग्गाकाे मुआब्जाकाे विषय कुरा भएकाे बताइएकाे छ ।

तीनकुने पार्कमा अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा नदिइएकाले तत्काल मुआब्जा दिनुपर्ने विषयमा बालेनले जाेड दिएका छन् ।

यसअघि मेयर बालेनले प्रधानमन्त्रीसँग सुकुमबासी समस्या र तीनकुने जग्गाकाे समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । बालेनकाे आग्रहपछि प्रधानमन्त्रीले सरोकारवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकासमन्त्री तथा सचिवहरूसमेतलाई राखेर छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महानगरले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएकाे भन्दै समाधानका लागि संघीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाएकाे महानगरपालिका स्राेतले बताएकाे छ ।

बैठकमा महानगरबाट मेयर बालेनसँगै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि  सहभागी थिए ।

यसअघि गणतन्त्र दिवसकाे अवसरमा टुँडिखेलमा आयोजित समारोह पनि मेयर बालेनले बहिष्कार गरेका थिए ।