‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’

‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’


१३७ वटा पालिका रहेको कोसी प्रदेश पर्यटकीय हिसाबले सम्भावना बोकेको प्रदेशमा गनिन्छ । त्यसमा पनि इलाम जिल्लाको सूर्योदय नगरपालिका त पर्यटकको हब नै मानिन्छ ।

कन्याम, श्रीअन्तु जस्ता प्रख्यात पर्यटकीय क्षेत्र रहेको सूर्योदय नगरपालिका सम्भावनाले भरिभराउ पालिका हो । सूर्योदय हेर्दा जति राम्रो देखिन्छ, यहाँका जनप्रतिनिधि र तिनले गरेका काम पनि त्यति नै राम्रा छन् त ? भन्ने प्रश्नमा हामीले उत्तर खोज्ने प्रयास गरेका छौँ ।

यसै सिलसिलामा विकास टाइम्सले सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालसँग पालिकाले गरेका काम, जनप्रतिनिधिबीचको सम्बन्ध, आगामी योजना जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्ने जमर्को गरेको छ ।

प्रस्तुत छ- विकास टाइम्सका कृष्ण उप्रेतीले उपप्रमुख दुर्गाकुमार बरालसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

१. तपाईं उपप्रमुखमा निर्वाचित भएको १ वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा यहाँले गरेका कामबारे कसरी सम्झिनुहुन्छ ?

अब तपाईंले गरेको कामबारे भन्नुस् भनेर मलाई नै सोधिरहँदा पहिले मैले (उपप्रमुख)ले पाएको अधिकार र त्यसको समुचित प्रयोग कसरी गरेँ भन्ने कुराले नै प्राथमिकता पाउला । न्यायिक समिति, अनुगमन, बजेट तयारी जस्ता क्षेत्रमा उपप्रमुखलाई पालिकाको पूणर् अधिकार दिइएको हुन्छ । यसरी हेर्दा यो १५ महिनाको अवधिमा मैले मेरो अधिकारलाई प्रयोग गरेर सकेसम्मको काम गरेँ भन्ने लाग्छ ।

मैले सूर्योदय नगरपालिकाको सरकारलाई गठबन्धनको सरकार जसरी नै हेरेको छु । मेयरज्यू र म फरक-फरक पार्टीमा आस्था राख्छौँ । तर, सरकार सञ्चालनमा मिलेरै काम गरिरहेका छौँ । २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूले सुरु गरेका कामलाई पनि हामीले निरन्तरता दिएका छौँ । साथै, योजनाहरू छनोट गर्ने क्रममा आवश्यकताका आधारमा प्राथमिकीकरण गर्दै गएका छौँ ।

तपाईंलाई आश्चर्य लाग्न सक्छ, आएका मुद्दाहरू किनारा लगाउनका लागि अहिलेसम्म हामीलाई इजलास नै राख्नुपर्ने अवस्था आएको छैन । हामीले ती मुद्दाहरूमा दुवै पक्ष विजयी हुने गरी मिलाएका छौँ ।

समग्रगमा भन्ने हो भने मैले यसबीचमा गरेको कामलाई म आफैँलाई १०० पूर्णांकमा ५० माथिको अंक दिन्छु । त्यो १०० पूर्णांक ५ वर्षका लागि हो, मैले १ वर्षमै ५० भन्दा माथि ल्याएको छु भन्दा खासै फरक नपर्ला । मैले गरेको काममा म आफैँ पनि सन्तुष्ट छु ।

२. उपप्रमुखलाई पालिकाको ‘न्यायाधीश’का रूपमा पनि लिने गरिन्छ । न्यायिक समितिमा परेका उजुरीका आधारमा पालिकाबासीले कस्ता समस्या भोगिरहेको देख्नुभयो र न्याय सम्पादनमा सूर्योदय कस्तो छ ?

स्थानीय स्तरमै न्याय दिने कुरा संविधानले हामीलाई दिएको संवैधानिक अधिकार हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४६ देखि ५६ सम्मले हामीलाई निरुपण र मेलमिलाप गराउने अधिकार दिएको छ । यसैभित्र रहेर हामीले काम गरिरहेका छौँ ।

म पालिकाको उपप्रमुखमा निर्वाचित भएपछि यस पालिकाको न्यायिक समितिमा २० र वडास्तरको मेलमिलाप समितिमा ८० को हाराहारीमा गरी १०० वटाभन्दा बढी मुद्दाहरू आए । आएका मुद्दाहरू विशेष गरी साँधसँधियार, कुटपिट, पतिपत्नीबीचको झगडा, लेनदेनसँग सम्बन्धित बढी छन् ।

तपाईंलाई आश्चर्य लाग्न सक्छ, आएका मुद्दाहरू किनारा लगाउनका लागि अहिलेसम्म हामीलाई इजलास नै राख्नुपर्ने अवस्था आएको छैन । हामीले ती मुद्दाहरूमा दुवै पक्ष विजयी हुने गरी मिलाएका छौँ । कुनै-कुनै मुद्दामा समस्या देखिए पनि त्यसलाई हामीले केही ढिला गरी भए पनि समाधान गरेका छौँ ।

हाम्रो अधिकार क्षेत्रभित्रै नपर्ने कतिपय मुद्दा पनि यहाँ आएका थिए । हामीले ती मुद्दा पनि सम्बन्धित निकायमा पुर्‍याउन मद्दत गरेका छौँ । यसरी हेर्दा न्यायिक क्षेत्रमा भएको कामलाई मूल्यांकन गर्दा सूर्योदय नगरपालिकाले शतप्रतिशत रिजल्ट दिएको छ ।

३. कतिपय पालिकामा प्रमुख-उपप्रमुखको टसल भएर कार्यसम्पादनमै असर परेको पनि सुनिन्छ । तपाईंहरू चाहिँ पालिकाको विकासका लागि कसरी काम गरिरहनुभएको छ ?

पालिकाभित्र अनुगमनको संयोजक म आफैँ छु । यो उपप्रमुखले पाएको सबैभन्दा महत्वपूणर् अधिकार पनि हो । बजारदेखि विकास निर्माणसम्मका सबै काममा म आफैँले अनुगमन गर्छु र गुणस्तरीय भएमा मात्र मैले भुक्तानीका लागि सिफारिस गर्ने गरेको छु ।

अब यहाँ मेयरले मलाई रोक्ने कुनै ठाउँ नै छैन र यहाँका मेयरले अहिलेसम्म रोकटोक पनि गर्नुभएको छैन । यसो भएपछि कसरी टसल हुन्छ त ?

मेयरज्यू आफ्नो अधिकार क्षेत्रभित्र हुनुहुन्छ, मेरो अधिकारको क्षेत्र नै फरक छ । हामी आ-आफ्नो काम गर्छौँ । त्यसैले हामीबीच झैझगडा हुने कुनै बाटो नै छैन । अझ हामीबीच त सरसल्लाह पो हुन्छ त यहाँ । मलाई मेयरज्यूले सोधेर काम गर्नुहुन्छ । म मेयरज्यूलाई सोधेर काम गर्छु । यस्तो सौहाद्र्रपूणर् वातावरणमा हामी काम गरिरहेका छौँ ।

४. सूर्योदयमा प्रमुख र उपप्रमुख दुवै जना पुरुष हुनुहुन्छ । तपाईँ उपप्रमुखको रूपमा काम गर्दा तपाईँलाई केही असहज भएको छ ? अनि प्रमुखसँगको सम्बन्ध कस्तो छ ?

यो प्रश्नको जबाफ तपाईंलाई म एउटा उदाहरणबाट दिन चाहन्छु । यस पटकको बजेट बनाउँदा मैले ‘सामाजिक विकासको क्षेत्रमा ‘अलि धेरै बजेट राख्नुपर्छ कि क्या हो मेयरज्यू ?’ भनेर निर्धक्कसँग सल्लाह गरेँ । त्यसमा मेयरज्यूको कुनै विमति रहेन । परिणाम स्वरुप कुल बजेटको ४२ प्रतिशत बजेट सामाजिक विकासको क्षेत्रमा हामीले छुट्यायौँ । अब तपाईं अफैँ भन्नुहोस् हामीबीचको सम्बन्ध र बोलचालको अवस्था कस्तो होला !

सकारात्मक सोच लिएर पालिका सञ्चालन गर्ने हो भने कुनै समस्या नै हुँदैन । नीति निर्माणदेखि विकासका काममा दुवै पक्षको फरक-फरक मत हुन सक्छ । सबै कुरामा सहमति नै हुन्छ भन्ने छैन । विमति भएका कुराहरूलाई बाहिर लाने होइन, टेबलमा बस्ने हो । सल्लाह र छलफल गरेर त्यसलाई टुंगोमा लाने हो ।

यो पालिकामा गर्न त धेरै मन छ । समय र बजेटको सीमाले गर्दा त्यो सबै पूरा हुन नसक्ला । तर, बाँकी रहेको कार्यकालमा मेरो १०० प्रतिशत इफोर्ट लाग्छ ।

यहाँ पनि यस्तो अवस्था नआएको होइन, आएको छ । विमतिका विषयलाई मुद्दाका रूपमा उठाउने होइन, त्यसलाई कसरी सहमति गर्ने भन्ने कुरा मुख्य रहन्छ ।

हामी दुवै जना पालिकाका लागि केही गरौँ भनेर आएका हौँ । दुवै जनाले ऐन कानुनलाई राम्रोसँग बुझेका छौँ । त्यसले पनि हामीबीचको सम्बन्धलाई धुमिल हुन दिएको छैन ।

५. अब बाँकी रहेको करिब ४ वर्षका लागि तपाईंको कार्ययोजना के-कस्तो छ ?

हेर्दाहेर्दै निर्वाचित भएको पनि १५ महिना बितिसक्न लाग्यो । अब मुस्किलले ४० महिनाको कार्यकाल बाँकी छ । यो पालिकामा गर्न त धेरै मन छ । समय र बजेटको सीमाले गर्दा त्यो सबै पूरा हुन नसक्ला । तर, बाँकी रहेको कार्यकालमा मेरो १०० प्रतिशत इफोर्ट लाग्छ ।

पालिका सञ्चालनका लागि थुप्रै ऐन कानुन बनाउनुपर्ने छ । पहिला त त्यसैमा केन्द्रित हुनुपर्ने छ । अब यहाँ कन्यामदेखि श्रीअन्तुसम्मका प्रख्यात पर्यटकीय क्षेत्रहरू छन् । त्यसको विकास र प्रचारमा थुप्रै काम गर्न बाँकी छ । त्यसमा पनि हाम्रा केही परिणाममुखी योजना छन् । त्यसलाई यो कार्यकालभित्र पूरा गर्नैपर्ने छ ।

साथै, अबको ४ वर्षभित्र पालिकाको सबै क्षेत्रमा वर्षभरि नै सञ्चालन हुने किसिमको सडक बनाउने योजना पनि छ । त्यो पनि हाम्रो प्राथमिकतामा छ । त्यस्तै, कृषि, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई पनि माथि उठाउने विषयमा केही राम्रा योजना अघि सारेका छौँ ।

जे होस् सूर्योदयको हित र सर्वांगीण विकासका लागि काम गर्ने हुटहुटी छ । केही गरेरै यो कार्यकाल सकौँ भन्ने लागेको छ । यहाँका स्थानीयले पनि सहयोग गर्नुभयो भने निराश नपार्ने गरी काम गरेर देखाउँछु ।