विद्यालयका ३ कोठा पहिराेले पुर्‍याे, जोखिम मोलेर ८ वटा कोठामा पठनपाठन

विद्यालयका ३ कोठा पहिराेले पुर्‍याे, जोखिम मोलेर ८ वटा कोठामा पठनपाठन


पर्वत ।

लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ ।

फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको २ वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् ।

३ कोठा पुरिए पनि ८ वटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ ।

पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।

“जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ”, प्रअ शर्माले भने– “ २–३ वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।”

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए ।

विद्यालयका आठवटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।