कागबेनी ३ दिनदेखि अन्धकारमा

कागबेनी ३ दिनदेखि अन्धकारमा


बागलुङ ।

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा ३ दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए। उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ ।

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए। “अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्”, उनले भने, “विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ ।”

खानेपानी सञ्चालनको तयारी

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

मंगलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए।