चाँगुनारायणमा १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने

चाँगुनारायणमा १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने


काठमाडौं ।

मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ ।

बुधबार प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौ ४ गते नागपञ्चमीका दिन २७ फिट कालीनागको विशेष पूजा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीकोपनि उपस्थिति रहने संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा ५४ रोपनी जग्गामा १ सय ८ फिटको शिवको मूर्ति र अन्य देवीदेवताहरूको प्रतीकका साथै धार्मिक पर्यटकीयस्थल बनाउने आफूहरूको सपना रहेको बताए ।

वर्षमा दुईपटक नागपञ्चमी र शिवरात्रिको पूजाको अवसरमा १ सय ८ गाडी र १ सय ८ बाजागाजासहितको ¥याली लग्ने तयारी भइरहेको उनले बताए । विगतमा धेरै क्रान्तिहरू भएको र नगरकोटको ३ किलोमिटर तल आफूहरूले धार्मिक पर्यटकीय ठाउँ बनाउन लागेको उनले बताए ।

आगामी भदौ ४ गते बालकुमारी मन्दिरबाट ठूलोमात्रामा सवारीसाधनहरू, भक्तजनहरू र बाँजागाजासहित रथयात्रा सुरु हुनेछ, कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै बनाएका छौं,’ उनले भने।

बस्नेतले ४ गते बिहान ८ बजे बालकुमारी मन्दिरमा भेला हुने र ९ बजे रथयात्रा सुरू हुने ११ बजे निर्माण कार्य सुरू भएको ठाउँमा पुग्ने भोजन ग्रहणपछि मात्रै औपचारिक कार्यक्रम सुरू हुने बताए ।

उनले अहिलेसम्म २० प्रतिशतमात्रै विकास निर्माणको काम सकिएको र भदौ ४ गते सबैलाई आउन आग्रह गरेका छन् ।

संस्थाका केन्द्रीय सदस्य सहदेव गौतमले हिन्दू सनातन धर्म मान्नेहरूको लागि नागपञ्चमीमा उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए। उनले सकिन्छ भने मन्दिर निर्माणकालागि सबैले योगदान गर्न आग्रह गरे ।