‘दसैँसम्ममा काठमाडाैँका सडकमा खाल्डाखुल्डी देखिँदैनन्’

‘दसैँसम्ममा काठमाडाैँका सडकमा खाल्डाखुल्डी देखिँदैनन्’


काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी दसैँसम्ममा काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी सबै पुरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालय र पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना गरेकाे कार्यक्रममा उनले अहिले वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी देखिएको भए पनि वर्षा कम हुनासाथ हटाइने बताएका हुन् ।

यस्तै, सरकारले चालु आर्थिक वर्षमा भाैतिक प्रगति ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिएकाे पनि उनले बताए  । गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाउने गरी काम गर्ने जानकारी दिए । कोराेनाको असर बाँकी रहेकै अवस्था र साेही वर्ष चुनाव पनि परेकाले ७० प्रतिशत प्रगति चानचुने कुरा नभएकाे भन्दै उनले अझै सुधार गर्नुपर्ने ठाउँ रहेको जनाए ।

भौगोलिक अवस्थाका कारण बाढीपहिराेले ठाउँठाउँमा सडक अवरुद्ध भए पनि सकेसम्म चाँडो खुलाएको उनकाे भनाइ थियाे । बाढीपहिरोको जोखिम रहेका स्थानमा उपकरण तयारी अवस्थामा राखी सडक अवरुद्ध हुनासाथ खुलाएको मन्त्री ज्वालाको भनाइ थियो ।

‘हेवा खोलामा आएको बाढीले अवरुद्ध सडक तदारुकताका साथ खुलाइयो भने नारायणगढ–बुटवाल सडक खुलाउँदै आइएको छ,’ उनले भने ।

यस्तै,  मन्त्री ज्वालाले निर्माण व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनीहरूको माग पूरा गर्न छलफल भइरहेको जानकारी दिए । भुक्तानीको समस्या समाधान भएपछि अरू समस्या पनि कसरी समाधान गरिने भन्ने विषयमा छलफल हुने उनकाे भनाइ छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले भुक्तानीको समस्या र कोभिडको असर हुँदाहुँदै पनि देशभरका आयोजनाको औसत प्रगति राम्रो भएको दाबी गरे । काठमाडौँ उपत्यकामा कतै खानेपानीको पाइप त कतै नेपाल विद्युत् प्राधिकरणको ‘अन्डर ग्राउन्ड’ तारका कारण सडकमा समस्या आएको उनको भनाइ थियो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले देशभरमा ठुलो संख्यामा पुल निर्माण भइरहेको बताए । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले देशभरका सडकको वर्गीकरण सुरु गरिएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सहभागी नहुँदा गति नलिएको बताए ।

पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले मन्त्रालय र सडक विभागले कुनै घटना वा आयोजनाको समयमै र सही व्यक्तिले सूचना नदिँदा मिडियामा गलत सूचना जान गरेको  उल्लेख गरे ।