बढ्याे अधिकांश बैंककाे ब्याजदर : सबैभन्दा बढी ब्याज दिने बैंक कुन ?

बढ्याे अधिकांश बैंककाे ब्याजदर : सबैभन्दा बढी ब्याज दिने बैंक कुन ?


काठमाडौँ । अधिकांश वाणिज्य बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । १२ वटा वाणिज्य बैंकले निक्षेपमा दिँदै आएकाे ब्याजदर बढाएका छन् ।

वाणिज्य बैंकहरूले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरूले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।

केही बैंकले मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । ४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसी एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंक छन् । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत ब्याजदर ताेकेका छन् ।

प्राइम कर्मसियल बैंकको साढे १० प्रतिशत ब्याजदर  छ । एनआइसी एसिया बैंकले साउनको तुलनामा ०.०३ प्रतिशतले ब्याजदर घटाएको छ भने प्राइमको पनि थोरै ब्याजदर घटेको छ ।

कुन बैंकले कति बनाए ब्याज ?

कृषि विकास बैंकले ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर साउन महिनामा कायम ९.५१ प्रतिशत नै राखेको छ। तर ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशतले बढाएर १०.५१ प्रतिशत तोकेको छ।

यस्तै १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत तोकेको छ। बैंकले ६ महिनादेखि ५ वर्ष अवधिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत र बोलकबोलका आधारमा ६ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ९.३९६ प्रतिशत कायम गरेको छ। यस्तै रेमिट मुद्दती बचतको ब्याजदर ११.८९६ प्रतिशत कायम गरेको छ। साधारण बचततर्फ यस बैंकले ५.९६६ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

साउनमा ब्याजदर बढाएको नबिल बैंकले भदौका लागि पनि बढाएको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १०.८९६ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत कायम गरेको छ। रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर यस बैंकले ११.८९६ प्रतिशत कायम गरेको छ।

साउन यस बैंकको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको थियो। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र रेमिट मुद्दती निक्षेपको ब्याजदर ११.४९ प्रतिशत कायम गरको थियो।

माछापुच्छ्रे बैंकले पनि साउन महिनाको तुलनामा ६ महिने मुद्दती निक्षेपको बाहेक अन्य मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर साउनकै ब्याजदर ९ प्रतिशत कायम गरेको छ। ६ महिनादेखि १ वर्ष र १ वर्षभन्दामाथिको मुद्दती निक्षेप यस बैंकले बढाएको छ। ६ महिनादेखि १ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.४९ प्रतिशत तोकेको बैंकले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ।

यस्तै संस्थागत मुद्दती निक्षेतर्फ यस बैंकले ६ महिनादेखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि ७.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। रेमिट मुद्दती निक्षेपमा यस बैंकले १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। साधारण बचततर्फ यस बैंकले ५ देखि ७ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले पनि साउनको तुलनामा भदौमा १० प्रतिशतले ब्याजदर बढाएको छ। यस बैंकले ३ महिनादेखि ५ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशत कायम गरेकोमा भदौ महिनाका लागि ९.९९ प्रतिशत कायम गरेको छ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर साउनमा ६.९९ प्रतिशत रहेकोमा भदौमा ७.९९ प्रतिशत कायम भएको छ। यस्तै ३ महिनादेखि ३ वर्ष अवधिको रेमिट्यान्स मुद्दती निक्षेपमा यस बैंकले १०.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

अन्य साधारण बचततर्फ यस बैंकले ४.९९ प्रतिशतदेखि ७.६६ प्रतिशत ब्याजदर कायम गरेको छ।

साउन महिनाका लागि ब्याजदर बढाएको कुमारी बैंक लिमिटेडले भदौ महिनाका लागि पनि ब्याजदर बढाएको छ। कुमारी बैंकले साउनको तुलनामा १० प्रतिशतले साधारण मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत, ६ महिनाभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्ययाजदर ८.८९६ प्रतिशत र साधारण बचततर्फ ५.९६६ प्रतिशतदेखप ७.९६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

यस्तै हिमालयन बैंकले भदौ महिनाका लागि १० प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले ३ महिनाभन्दा बढी अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा संस्थागत मुद्दतीको निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेकाले यस बैंकले पनि संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।

१० लाख रुपैयाँदेखि सोभन्दा बढी रकम ६ महिना अवधिसम्मका लागि निक्षेपमा जम्मा गरेमा बैंकले ७.९९ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। यस्तै १०० देखि २०० दिनसम्म न्युनतम १ लाख मुद्दतीमा राख्ने बचतकर्तालाई ९.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

यस्तै साउन महिनाका लागि सबैभन्दा बढी ब्याजदर तोकेको एनएमबी बैंकले भदौ महिना लागि ब्याजदरमा घटाएको छ। यस बैंकले साउन महिनामा ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरेको भदौ महिनामा ८.१० प्रतिशत कायम गरेको छ। यस्तै ९.१० प्रतिशत रहेको ६ महिनादेखि ९ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर भदौमा घटाएर ८.२५ प्रतिशत कायम गरेको छ। साउनमा ९ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.२५ प्रतिशत कायम गरिएकोमा भदौ महिनाका लागि ८.७५ प्रतिशत तोकिएको छ।

यस्तै, साउन महिनामा १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत, २ वर्षदेखि १० वर्ष भन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र १० वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत कायम गरेको बैंकले भदौ महिनाका लागि क्रमस १ वर्ष देखि २ वर्षको अवधिका लागि ९.२५ प्रतिशत, २ वर्षदेखि १० वर्षभन्दा कम अवधिका लागि ९.५ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। रेमिट्यान्स मुद्दती निक्षेपमा समय अवधिका आधारमा थप १ प्रतिशत बिन्दु बढी ब्याजदर दिने घोषणा एनएमबी बैंकले गरेको छ। बैंकले सबै प्रकारको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।

नेपाल एसबीआई बैंकले सबैप्रकार मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले साउन महिनाकै ब्याजदरलाई भदौ महिनामा पनि निरन्तरता दिएको छ। यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ७.२० प्रतिशतदेखि ८.२० सम्म तोकेको छ। समग्रमा यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ। रेमिट्यान्स मुद्दती बचतका लागि थप १ प्रतिशत बिन्दुले बैंकले बढी ब्याजदर तोकेको छ।

यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौ महिनाका लागि यस बैंकले ३ महिना अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ७.९२ प्रतिशत कायम गरेको यस बैंकले १ वर्षसम्म वा सोभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ८.९२ प्रतिशत कायम गरेको छ। रेमिट्यान्स मुद्दती बचतमा यस बैंकले ९.९२ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

प्रभु बैंकले भदौ महिनाका लागि निक्षेपको ब्याजदर बढाएको छ। साउन महिनाका लागि २ वर्ष अवधिको ब्याजदर ९.२५ र २ वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत तोकेको यस बैंकले भदौ महिनाका लागि दुबै मुद्दतीको ब्याजदर १० प्रतिशत तोकेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत तोकेको यस बैंकले रेमिट्यान्स बचतको ब्याजदर ११ प्रतिशत कायम गरेको छ।

लक्ष्मी बैंक र सनराइज बैंक मर्जपश्चात बनेको लक्ष्मी सनराइज बैंकले पनि ब्याजदर उच्च नै राखेको छ। यस बैंकले सबै प्रकारका मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र रेमिट्यान्स मुद्दतीको ब्याजदर १०.९९ प्रतिशत निर्धारण गरेको छ।

साउन महिनामा ब्याजदर बढाएको प्राइम कर्सियल बैंकले भदौ महिनाका लागि भने घटाएको छ। यस बैंकले साउनमा साधारण मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत कायम गरेकोमा भदौका लागि १०.५० प्रतिशत तोकेको छ। साधारण मुद्दती निक्षेपको ब्याजदरसँगै संस्थागत मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती बचतको ब्याजदर पनि घटेको छ। यस बैंकले ३ महिनाभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.५० प्रतिशत र रेमिट्यान्स मुद्दती बचतमा १२.५० प्रतिशत ब्याज दिने निर्णय गरेको छ।

यस्तै एनआईसी एसिया बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर सामान्यरुपमा घटाएको छ। साउनमा ३ महिनादेखि १५ वर्षका लागि १०.९३ प्रतिशत ब्याजदर निर्धारण गरेको यस बैंकले भदौ महिनाका लागि १०.८९६ प्रतिशत तोकेको छ। उक्त साधारण मुद्दती निक्षेपको ब्याजदरअनुसार संस्थागत मुद्दतीको ब्याजदर ८.८९ प्रतिशत कायम गरेको छ।

सिद्धार्थ बैंकले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएको छ। यस बैंकले भदौ महिनाका लागि साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। ३ देखि ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत तोकेको छ। यस्तै रेमिट मुद्दती बचततर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि १०.५ प्रतिशत र ६ महिनाभन्दा बढी अवधिको यस्तो बचतका लागि १९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै सस्थागत मुद्दती निक्षेपकर्ताका लागि बैंकले ७.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

यस्तै नेपाल बैंक लिमिटेडले साधारण मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशतबाट बढाएर १०.८९६ प्रतिशत पुर्‍याएको छ। बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत कायम गरेको छ भने रेमिट मुद्दती निक्षेपको ब्याजदर ११.८९६ प्रतिशत तोकेको छ।