फिर्के खोलाको दायाँबायाँ गाडियो ५ सय पिल्लर

फिर्के खोलाको दायाँबायाँ गाडियो ५ सय पिल्लर


कास्की ।

कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमांकन अन्तिमचरणमा पुगेको छ ।

पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमांकन गर्न सुरु गरेको थियो ।

वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमांक वडानं १८ बेँसीटोल पुगेको छ ।

यस कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सिमांकन भएको क्षेत्रमा ५ सय बढी पिल्लर तथा चिन्ह् खोलाको दायाँबायाँ गाडिएका छन् । उनले भने,“फिर्के खोलाको सिमांकनको काम अब धेरै बाँकी छैन । हामी छिट्टै यसलाई सम्पन्न गर्दछौँ । ” सर्वेक्षक पौडेलका अनुसार अब ५ सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउए । उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

महानगर प्रमुख आचार्यले भने, “सिमांकन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ । त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौँ र आवश्यक पूर्वाधार निर्माण गछौँ ।”

पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् । बर्खायाममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरितका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ ।