काठमाडौं।
काठमाडौं महानगरपालिकाले डेंगी संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ ।
नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी रहेको छ ।
कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन । उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ ।
अहिले कामपामा ४० जना डेंगी रोग सङ्क्रमित रहेका पनि प्रमुख पौडेलले जानकारी दिए ।
मजबुत तरिकाबाट पूर्वतयारी गरेकाले विगतको वर्षको तुलनामा यस वर्ष डेंगी संक्रमितको संख्या कम रहेको भए पनि आउने दिनका लागि तयारी पूरा गरिएको पौडेलले जानकारी दिए ।
विगतका वर्षहरूमा अहिलेसम्म आउँदा दैनिक १०÷१५ जनामा संक्रमण देखा पर्ने गरेको थियो अहिले भने कहिलेकाहीँ मात्रै संक्रमित देखा पर्ने गरेका छन् । काठमाडौँ जिल्लामा भने हालसम्म १९६ जनामा पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ४ जना अस्पतालमा उपचाररत छन् ।
कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेंगी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ । प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया