विदेश बसाई त्यागेर गाँउमै कृषि कर्म, बोटबाटै सय रुपैयाँमा कागती बिक्री

विदेश बसाई त्यागेर गाँउमै कृषि कर्म, बोटबाटै सय रुपैयाँमा कागती बिक्री


बागलुङ ।

बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेले गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् ।

पोखरेल १२ वर्ष अगाडिसम्म विदेशमा थिए । २५ वर्ष भारत र २ वर्ष कतारमा पसिना बगाएका उनी १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका हुन् ।

पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गछन् । उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले ३०० बोट कागती, झन्डै १०० सुन्तला र २५ टिमुरका बाट रहेका पोखरेलले जानकारी दिए । उनका अनुसार सबै बोटमा फल लागेका छन् ।

“कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ”, पोखरेलले भने, “बोटबाटै १ सयमा कागती बिक्री हुन्छ ।” उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उनले जानकारी दिए ।

पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । ५ वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् ।

निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताए । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उनले अनुभव सुनाए । हाल ४ सय कागतीका बोटमध्ये २ सयले फल दिन थालेका क्षेत्रीले बताए । उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । ७ वर्षदेखि व्यावसायिकरुपमा कागती खेती थालेका क्षेत्रीले यस वर्ष ४ लाख बराबरको बिक्री गरेको जानकारी दिए ।

समुद्री सतहबाट १ हजार ५ सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए

सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर ३ सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दै उनले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताए।