गण्डकीमा ५ सय ७२ रोपनीमा स्याउखेती विस्तार, बिरुवामा ७५ प्रतिशत अनुदान

गण्डकीमा ५ सय ७२ रोपनीमा स्याउखेती विस्तार, बिरुवामा ७५ प्रतिशत अनुदान


गण्डकी ।
गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ ।
मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी ५ सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् ।
बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।
स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट ३९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत १८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उनको भनाइ छ ।
गत आवमा स्याउखेती विस्तारतर्फ ११ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा ६ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार ८०० स्याउका बिरुवा वितरण गरिएको थियो ।
शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए ।
शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार १ सय ओखरका बिरुवासमेत वितरण गरी थप ५०५ रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।
विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो १ सय ५० का दरले वार्षिक झन्डै १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ ।
औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक १ हजार १८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ ।
स्याउका लागि मुस्ताङमा १ सय टन क्षमताका २ चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताए ।
थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको हो ।
किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन् ।
रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उनको भनाइ छ ।
छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् ।
उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको १ हजारदेखि १ हजार २ सयसम्म मूल्य पर्ने र बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ ।
उक्त प्रविधिको स्याउखेती ७/८वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो ।