बाढी पसेर रोपेको धान सोत्तर, गाउँ नै खतरामा

बाढी पसेर रोपेको धान सोत्तर, गाउँ नै खतरामा


कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–८ का कलकबहादुर डगौरा चुरे नजिकको बेलडाँडी गाउँमा बस्दै आएको दशक बित्नै लागेको छ ।

विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउथ्यो र घरसम्म पुग्दैनथ्यो । खोलामै बगेर जान्थ्यो । बस्तीमा कुनै हानि नोक्सानी हुँदैन्थ्यो ।

तीन दिनअघि अनौखी खोलाको बाढी उनको घरसम्मै पुग्यो । पहिलो पटक बालुवा, ढुंगा, गिट्टी ल्याएर उनले रोपेको धान पूरै पुरिदियो । “बाढीको समस्या पहिलो पटक नै देखियो”, उनले भने, “खोलाको बाढीको पानीले पूरै खेतमा रोपेको धान सोत्तर बनाइदिएको छ, धान किनेर भात खानुपर्ने अवस्था ल्यायो ।”

खाेलाले उनको मात्रै धानबालीमा क्षति गरेको छैन । गाउँका अन्य सात परिवारले लगाएको धानबालीमा व्यापक क्षति पुर्‍याएको छ ।

खोला र किसानले खेती गर्ने जग्गाको सतह बराबरीमा पुगेको छ । चुरे क्षेत्रका पहाड र नजिकैका वनमा निरन्तररुपमा पहिरो जान थालेपछि यो समस्या आएको स्थानीय रामसिंह चौधरीले बताए ।

खोलाको बहाव क्षेत्रको गहिराइमा निकै कमी आएपछि बाढीजन्य प्रकोपको समस्याले सताउन थालेको उनको भनाइ छ ।

चुरे क्षेत्रमा सडक खन्ने, बस्ती बस्ने, अनियन्त्रितरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने र वन विनाश हुनेक्रम बढ्दोरुपमा हुन थालेपछि बाढीको समस्या फेदीका गाउँमा देखिन थालेको चौधरीले बताए ।

गाउँ नै छाडेर अन्यत्र जानुपर्ने अवस्था सिजना भएको उनले दुखेसो पोखे । बाढीको समस्या झेल्दै आएकी बेलडाँडीकी विमला चौधरीको परिवारले चुरे क्षेत्रमा वर्षा हुँदा घर नै छाड्नुपर्ने अवस्था रहेको छ ।

घरमा १ जना कुरुवा राखेर अरु परिवारका सदस्य अमरपुरमा डेरा लिएर बस्दै आएको उन्ले बताइन् । खोला नियन्त्रणका लागि नगरपालिका कार्यालय पुगे पनि अश्वासनबाहेक केही हुन नसकेको बेलडाँडी गाउँका बासिन्दाको भनाइ छ ।

खोलाजन्य पदार्थ वैज्ञानिक तरिकाले हटाए पनि बाढीको समस्या समाधान हुने स्थानीयको भनाइ छ । बेलडाँडी गाउँ चारैतिर खोला र नदीले घेरिएको छ । बर्सेनि यस गाउँमा वनहरा नदी, अनौखी खोला र अन्य खहरे खोलाले कटान तथा पटानको समस्या ल्याउने गरेका छन् । खोला र नदीकै कारण गाउँ नै खतरामा परेको गाउँका बासिन्दाको बुझाइ छ ।

तीन दिनअघि आएको बाढीले स्थानीयको खेतमा मात्रै नोक्सानी नगरेर नजिकको धार्मिक क्षेत्र भम्केपानीमा जग्गा कटानीको काम तीव्र बनाएको छ । गाउँमा पानी ल्याउन बनाइएको बाँधमा पनि क्षति गरेको छ । गाउँमा ३ सय बढी परिवारको बसोबास रहेको छ ।