इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटर किन्न सहुलियतमा पूर्ण कर्जा दिने

इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटर किन्न सहुलियतमा पूर्ण कर्जा दिने


काठमाडौँ ।

पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् ।

विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिंग क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउँदै तथा प्रवद्धन गर्दै जाने सरकारको नीतिसमेत रहेको छ ।

यसैबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रवद्धन गर्न सुरुआत गरेको छ । बैंकले चारपांग्रे विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ । यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ ।

नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ । सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवद्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इको इन्फिनिटी प्रालिसँग सहकार्य गरेको हो । यो सहकार्यले विद्युतीय स्कुटर प्रयोग गर्न चाहने उपभोक्तालाई कोशेढुंगाको काम गर्ने मैले विश्वास लिएको छु ।’

इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताए । उनले भने, ‘न्यू दुईपाङ्ग्रे सवारीसाधन ‘स्मार्ट अर्बन मोबिलिटी’को अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको छ । नेपालमा ८५ हजारभन्दा किलोमिटरभन्दा माथि गुड्न सफल छ ।’

‘न्यू’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको सो प्रालीले जनाएको छ । ‘न्यू’को पोर्टफोलियोमा छ सिरिजका दुईपांग्रे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका उनले जानकारी दिए ।

चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ । प्रमुख कार्यकारी अधिकृत निर्देशक डा बोहराले भने, ‘यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन ।’ न्यू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।

उनका अनुसार न्यू स्कुटर उच्च गुणस्तर भएकै कारण गरुडा सेक्युरेटिज तथा गरुडा सपोर्ट सर्भिस र दराज अनलाइन सर्भिसले धेरै संख्यममा न्यू स्कुटर प्रयोगमा ल्याइराखेका छन् ।