बन्दीपुर केबलकार सञ्चालनमा आँउदै, टिकट दर ५० देखि ५ सय सम्म

बन्दीपुर केबलकार सञ्चालनमा आँउदै, टिकट दर ५० देखि ५ सय सम्म


तनहुँ ।
बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ ।
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको १ हजार ७०० मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।
एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ ।
केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।
केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र २ एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । १ डिब्बामा ८ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ ।
पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई  ५०, पत्रकारलाई  ३  सय ५०, अन्य यात्रुका लागि  ५ सय, रेष्ट्रो क्याबिनको २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।
केबलकार र पाँचतारे होटल गरी कूल ३ अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् ।
मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।
‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब ८ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताए।
९० कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी केबलकारको प्रवेशद्वारमा  २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ ।