बुद्धसिंहमार्ग १ सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

बुद्धसिंहमार्ग १ सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा


दमौली ।

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध भएको हो । गत साउन २६ गते खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात सेवा विच्छेद भएको छ ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको उक्त मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ ।

पहिरोसँगै ठूलाठूला ढुंगा खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयवासी हर्कबहादुर थापाले बताए ।

अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारीसाधन सदरमुकाम दमौली र घुमाउनेतर्फ जान सक्दैनन् । सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् ।

पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारीसाधनमा खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्री लगेपनि त्यसउता भने बोकाएर लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गरेकामा अहिले उनीहरूको आवागमन पूर्णरुपमा बन्द भएको छ ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ ।

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल निर्माण भएपछि बाटो पनि छोटिन्छ ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ । उक्त सडक गण्डकी प्रदेश मातहत रहे पनि सडकको पहिरो पन्छाउने जिम्मेवारी आफ्नो नभएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए ।

प्रदेश सरकारले अहिले १० किलोमिटर सडक कालोपत्र गरिरहेको हुँदा त्यही १० किलोमिटरभित्र हुने अवरोध हटाउने जिम्मेवारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भूमिका नहुने उनको भनाइ थियो ।

प्रमुख घिमिरेले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निवेदन दिएमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग बजेट माग गरिए मात्र सडकको अवरोध हटाउन सकिने उल्लेख गरे ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल अलपत्र अवस्थामा छ ।

घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।