‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

महाकालीका मेयरसँग विकासका कुरा


विकासले फड्को मार्न नसकेको प्रदेश भनेर भाष्य स्थापित गरिएको प्रदेश हो- सुदूरपश्चिम प्रदेश । भनिन्छ ‘यहाँ त सूर्य पनि अस्ताउन मात्र पुग्छ ।’

नेपालको पल्लो छेउ भएकाले पनि यसलाई सुदूर भनिन्छ । यसै प्रदेशको सुदूर स्थानमा पर्ने दार्चुला जिल्ला र दार्चुलाको पनि सुदूरमा रहेको महाकाली नगरपालिका देशको अन्तिम बिन्दु हो । यसपछि भारतको सीमा सुरु हुन्छ ।

देशको सुदूर भेगमा रहेको महाकाली नगरपालिकाको वस्तुगत अवस्थालाई त्यहाँका पालिका प्रमुखसँगको कुराकानीमार्फत् उजागर गर्ने प्रत्यत्न गरेका छौँ । महाकालीका नगर प्रमुख नरसिंह चैंसिरसँग विकास टाइम्सका लागि कृष्ण उप्रेतीले सीमाको विषयसँगै पालिकाको विकास, समस्या र आगामी योजनाका बारेमा पनि जान्ने प्रयास गरेका छन् ।

प्रस्तुत छ उनै चैंसिरसँग कृष्ण उप्रेतीले गरेको कुराकानीको सम्पादित अंशः

१. महाकाली नगरपालिका नेपाल-भारतको सीमामा रहेको पालिका हो । महाकाली वारि र पारिबीच निकै समस्या छ, तनाव सिर्जना भइरहन्छ भन्ने खालका समाचारहरू बाहिर आउँछन् । त्यहाँको वास्तविक अवस्थाचाहिँ कस्तो छ ?

राजनीतिक मुद्दालाई अलग राखेर आपसी व्यवहारलाई मात्र हेर्ने हो भने हामीबीचको सम्बन्ध एउटै परिवार जस्तै छ । न यहाँ मनमुटावको अवस्था छ, न कुनै विषयमा विरोध नै छ । बेलाबेलामा भने माथिल्ला तहका नेताहरूले अनावश्यक राजनीतिक मुद्दा उठान गरिदिँदा हामी दुवै पक्षलाई समस्या हुन्छ । तर, त्यो पनि २/४ दिनमै साम्य भइहाल्छ । किनकि हामीलाई राजनीति गर्नु छैन ।

एक-अर्काको आवश्यकता परिपूर्ति गर्दैै जीवनयापन गर्नुछ । अनावश्यक विवाद र झगडा निकालेर के नै हुने हो ? तपाईँले भने जस्तै, बेलाबेलामा सुनिने हल्ला नितान्त राजनीतिक तिकडमका उपज हुन् । हामी त्यतातिर खासै मतलब पनि राख्दैनौँ ।

२. हामी पारीतिर बढी निर्भर भयौँ, बेच्न होइन किन्न मात्र जान्छौँ भन्ने भाष्य स्थापित भएको छ । यसको कुनै हल हुन सक्छ ?

यो सरासर गलत भाष्य हो । समग्र राष्ट्रिय व्यापारको विषयलाई लिएर यहाँ पनि तुलना गर्नु गलत कुरा हो । हामी महाकालीका बासिन्दा किन्न मात्र होइन, बेच्न पनि पारी जाने गरेका छौँ । अझ मकै, तरकारी, फलफूलको सिजनमा त उताका व्यापारीहरू हाम्रो बारीमै आएर किन्छन् ।

मैले अघि नै भनेँ नि आपसी व्यवहारले गर्दा नै वारिपारि चलायमान भएको हो । एकतर्फको असर अर्कोतर्फ पर्छ पर्छ । अब समग्र राष्ट्रिय स्तरको कुरा गर्ने हो भने त त्यो फेरि फरक बहसको विषय हुन सक्छ ।

३. निर्वाचनपछि यहाँ पालिका प्रमुखमा निर्वाचित भएको करिब १५ महिना भयो । यो १५ महिने कार्यकालमा गरेका कामलाई कसरी सम्झिनुहुन्छ ?

मेरो यो १५ महिने कार्यकाललाई फर्केर हेर्ने हो भने त्यति सुखद् रहेन । अब सामान्य विकासका काम त भएकै छन् । ती नियमित प्रक्रिया नै हुन् ।

तर, गत वर्षको भदौ महिनामा महाकालीमा आएको बाढीले पूरै पलिकालाई नै शिथिल बनाइदियो । त्यो बाढीले भएको क्षतिपछिको उद्धार र रहतमै हाम्रो ३ महिनाभन्दा बढी समय खर्च भयो । १२ जनाको ज्यान जाने गरी आएको बाढीमा ५५ वटा घर पूणर् रूपमा क्षति भएका थिए भने ४० वटा घर त अहिलेसम्म पनि मानिसबिनाकै छन् ।

त्यस्तै, विद्यालय, स्वास्थ्य चौकी, २ वटा झोलुंगे पुल, वडा कार्यालय, सडकलगायतमा धेरै क्षति भयो । त्यो क्षतिको पूणर् विवरण अहिलेसम्म निकाल्न सकिएको छैन । हाम्रो विकास बजेटको केही हिस्सा पनि त्यसैमा खर्च भयो । यसले पनि अन्य क्षेत्रमा काम गर्न हामीलाई समस्या भएको थियो ।

साथै, हामीले गत वर्ष नगर शिक्षा ऐनको पनि निर्माण गर्‍यौँ । त्यसले पनि पालिकाभित्रको शिक्षामा सुधार गर्न केही सहयोग पुग्यो । विषय शिक्षकको व्यवस्थापन गर्नुका साथै ७४ वटा विद्यालयको कक्षास्तर मिलान र २ वटा विद्यालय मर्ज पनि भए ।

कृषि क्षेत्रमा पनि केही अपेक्षाकृत काम भएका छन् । हरेक वडामा कृषि र भेटेरिनरी प्राविधिकको व्यवस्थापन पनि गरेका छौँ । यसले कृषकहरूलाई व्यावसायिक बनाउन मद्दत गरेको छ भन्ने लाग्छ ।

४. देशका अधिकांश पालिकामा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच मनमुटाव हुने र सँगसँगै प्रशासकीय अधिकृतको अभाव झेलेका समाचार आइरहेका छन् । तपाईंको पालिकाले यस्तो समस्या भोग्नुपर्‍यो कि परेन ?

तपाईंको यो प्रश्न नै मेरो पालिकामा लागू हुँदैन । यहाँ हाकिमसँग टसल र अभाव कहिल्यै भएन । यो विषयमा हामी भाग्यमानी नै छौँ । मेरो बाँकी कार्यकालमा पनि यस्तै होस् भन्ने चाहेको छु ।

५. कार्यपालिकामा विभिन्न दल र विचार बोक्ने व्यक्तिहरू भएको कार्यपालिका र नगरसभामा काम गर्दा कस्तो महसुस गर्नुभएको छ ।

साँच्चिकै केही परिवर्तन गरौँ, देशका लागि केही गर्नुपर्छ । समाज निर्माणमा एकजुट हुनुपर्छ भनेर सबैजना लागिदिएको भए हाम्रो देश अहिले कहाँ पुगिसक्थ्यो । राजनीतिक व्यक्तिहरूको चरित्र कस्तो हुन्छ भन्ने कुरा मैले स्पष्ट पारिराख्नु पर्दैन ।

हिजोका दिनमा जुन वचनका साथ जनप्रतिनिधिहरू विजयी भएर आएका थिए, त्यो अवस्था अहिले परिवर्तन भइसकेको छ । अरूका लागि भन्दा पनि आफ्ना लागि सोच्नेहरूको जमात बढी देखिन्छ । मैले भने कार्यपालिका र नगरसभामा खासै समस्या झेल्नु परेको छैन ।

तर, उहाँहरूको कुरा सुन्दा उहाँहरू बढी आफू केन्द्रित भएको देखिन्छ । हामी त्यस्ता विषयलाई खासै महत्वमा राख्दैनौँ । नगरबासी र पालिकाको आवश्यकताका आधारमा हामीले काम गर्दै आएका छौँ ।

६. पालिका प्रमुख भएर काम गर्दै गर्दा नीतिगत, व्यावहारिक र कार्यगत कस्ता कठिनाइ भोग्नुभएको छ ? अनि ती समस्या कसरी समाधान गर्न सकिएला ?

यहाँ पालिकासँगै नगरबासीका समस्याहरू जोड्ने हो भने अनगन्ती छन् । मेरोमा आएका गुनासो र समस्याहरूमा ९० प्रतिशतभन्दा बढी त स्थानीयका व्यक्तिगत नै हुने गरेका छन् । अब यसलाई जनताको समस्या भन्ने कि मेरो ? सायद पालिकाको प्रमुख भएपछि ती समस्याहरू पनि मेरै समस्या हुन् भन्ने ठानेको छु ।

यहाँका अधिकांश जनता अशिक्षित छन् र आर्थिक अवस्थामा पनि कमजोर छ । यसकारण पनि यहाँको समस्याको परिभाषा नै फरक छ । यहाँको बुझाइ कतिसम्मको छ भने, यहाँ कुनै अमूक पार्टीको अमूक व्यक्ति ठुलो पदमा पुगेको छ भने त्यसलाई सर्वेसर्वा मान्ने चलन छ । त्यो व्यक्तिसँग कसैले प्रश्न गर्नै सक्दैन ।

अनि त्यस्ता व्यक्तिले मात्र सामाजिक काम गर्ने हो भन्ने मानसिकता छ । अरु त्यसमा सहभागी नै हुँदैनन् । यस्तो अवस्थामा काम गर्न कत्तिको कठिनाइ होला, त्यो सहजै अनुमान लगाउन सकिन्छ ।

यहाँ त मुद्दा पनि प्रतिशोधात्मक हिसाबले आउँछन् । न्याय पाउनेभन्दा पनि रिस साँध्ने लक्ष्य नै हाबी हुँदा त्यस्तो समाजलाई कसरी विकासको पाठ पढाउन सकिएला र ?

त्यस्तै, अब २०७९ सालमा आएको बाढीका कारण मृत्यु भएकाको परिवारलाई हामीले पालिकाको क्षमताअनुसार प्रतिपरिवार १ लाख रुपैयाँ, घरमा क्षति पुगेकाहरूलाई क्षतिको अवस्थाअनुसार ५० हजार, ४०, २५ हजारका दरले सहयोग गर्‍यौँ ।

तर, यस्तो विपत्तिमा पनि केन्द्र र प्रदेश सरकारले कुनै राहतको प्याकेज दिएनन् । यो बिडम्बनाको विषय हो । हामीले बाढीको केही महिनामै प्रदेश र केन्द्रलाई पत्र पनि पठाएका थियौँ । तर, अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन ।

मैले प्रमुखका रूपमा काम गर्दै गर्दा भोगेको यो पनि एउटा समस्या हो । अब यसलाई व्यावहारिक समस्या भन्ने कि कार्यगत, त्यो उनीहरूलाई नै थाहा छ । तर, म त यसलाई बेवास्ता नै भन्छु ।

७. अब तपाईंको कार्यकालको करिब ४ वर्ष बाँकी छ । यो अवधिमा पालिकाबासीका लागि के-कस्ता योजना ल्याउनुहुन्छ ?

मेरो बाँकी कार्यकालमा हुने महत्वपूणर् काममा त पहिलो भनेको यहाँको शिक्षाको गुणस्तर सुधार गर्नु नै हो । अनुगमनलाई त बढाउनु पर्ने नै देखेका छौँ भने यहाँका विद्यार्थी र शिक्षकको संख्याको अनुपातलाई पनि मिलाउनु पर्नेछ । यो चाँडै नै समाधान पनि हुन्छ । साथै, विद्यालयमा दिइने शिक्षाको प्रणालीलाई पनि अलि व्यावहारिकतर्फ लैजाने योजना पनि छ ।

यहाँ तरकारी र फलफूलको राम्रो सम्भावना भएकाले त्यसतर्फ पनि हामीले प्रभावकारी योजना बनाउँदै छौँ । किसानलाई व्यावसायिक रूपमै खेती गराउने योजनामा छौँ ।

यो वर्ष हाम्रो बजेटमा करिब २ करोड ५० लाखको कटौती भएको छ । ६५ करोड आसपासको बजेटमा पलिकाको विकासदेखि प्रशासन सबै धान्नपर्ने चुनौती पनि छ । बजेट कम हुनुमा यहाँको भौगोलिक अवस्था र आन्तरिक आम्दानी मुख्य कारण मान्न सकिन्छ ।

यहाँ गत वर्ष १ करोड १७ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो । यो साह्रै कम हो । आम्दानी बढाउनका लागि व्यवसायीहरूलाई करको दायरामा ल्याउने काम पनि भइरहेको छ ।

अब, बाटोघाटो जस्ता पूर्वाधारहरू त बजेट र आवश्यकतका आधारमा भई नै रहन्छन् । पहिलो प्राथमिकता त सामाजिक विकास नै हो । यसलाई नै प्राथमिकतामा राख्नुपर्छ ।

मैले यसो भनिरहनुको कारण पनि छ । यहाँको एउटा प्रथा जस्तै बसेको चलन के छ भने सामान्य लेखपढ जान्ने बित्तिकै पैसा कमाउन भारततिर गइहाल्छन् । स्वाबलम्बन बन्ने र परिवारसँगै बसेर केही गरौँ भन्ने सोच प्रायः कसैमा छैन । यदि विद्यालय स्तरबाटै यो अवस्थाको अन्त्य गर्न सकेनौँ भने यसले भविष्यमा झन् विकराल रूप लिने पक्का छ ।