सोल्टी होटलले कमायो ५४ करोड खुद नाफा

सोल्टी होटलले कमायो ५४ करोड खुद नाफा


काठमाडौं ।

सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको भन्दा ८३.४० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो होटलले २९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

असार मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६४.२७ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष होटलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ ।

यता, आम्दानी बढेसँगै सोल्टीले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो ।

सोल्टी होटलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ ।

अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५२ पैसा रहेको थियो ।