दाउरा बालेर खाना पकाउने दिन गए, पाइप लाइनबाट घरघरमा ग्यास !

दाउरा बालेर खाना पकाउने दिन गए, पाइप लाइनबाट घरघरमा ग्यास !


कैलाली ।

टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको छ ।

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा ४ घन्टा ग्यास आउने गरेको स्थानीय बताउछन् ।

ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । २ महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बताउछन् ।

२ सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता १५० घरधुरीका लागि छ ।

ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । १ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो ।

गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ ।

चौपायाको गोबरलाई संकलन गरेर प्लान्टमा राखेपछि त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री गर्ने गरिएको सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले बताए ।

गोबर पर्याप्त नहुँदा दिनमा ४ घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।

गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउछन् ।

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताउछन् ।

नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ ।

त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको छ ।

गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ ।

गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा संकलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशी बताउछन् ।