कारबाहीमा पर्ने भएपछि मिटरब्याजीले फिर्ता गरे ३१६१ जनाकाे ११९ बिघा जग्गा

कारबाहीमा पर्ने भएपछि मिटरब्याजीले फिर्ता गरे ३१६१ जनाकाे ११९ बिघा जग्गा


काठमाडौँ ।

नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।

पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म ३ हजार १६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टि भएको छ । मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ ।

पीडितले साहुसँग १ अर्ब ८ करोड ६० लाख ८३ हजार ६९४ रुपैयाँ माग गरेको देखिएको छ । तर साहुले भने रकम बढाएर २ अर्ब ६१ करोड ६२ लाख २१ हजार २४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको भट्टराईले बताए । यो रकम मागेभन्दा डेढ अर्बभन्दा पनि बढी हो ।

सबैभन्दा बढी मधेस प्रदेशको ६९ करोड ५१ लाख रुपैयाँ छ भने सबैभन्दा कम कर्णालीमा ३ करोड ६ लाख रुपैयाँ छ ।

प्राप्त विवरणअनुसार ३ हजार १६१ जनाबाट साहुले हडपेको ११८ बिघा १९ कठ्ठा ६ धुर जमिन पीडितलाई फिर्ता भएको पनि उनले बताए । हालसम्म यसरी पीडित भएको भनेर २३ हजार ९६१ जनाले उजुरी दिएका छन् ।

अहिले सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले उजुरी लिने, मिलापत्र गराउनेलगायत काम गरिरहेको छ ।

गम्भीर प्रकृतिका घटना, रकम उठाउन धम्की दिने, मानसिक तथा शारीरिक यातना दिने तथा जग्गा गम्भीर तरिकाले हडप्ने जस्ता व्यक्तिको हकमा भने कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई छ ।

तर, पहिलो चरणमा मिलापत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेको आयोजनाका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीले बताए ।