२ महिनामा पनि सडक नखुलेपछि जुट्याे सेना

२ महिनामा पनि सडक नखुलेपछि जुट्याे सेना


बाजुरा ।

पहिराेका कारण २ महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा रहेकाे सडक पहिराेका कारण २ महिनादेखि अवरुद्ध छ ।

दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मत मा सेना जुटेको जानकारी दिए ।

सो सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणले आवतजात गर्न समस्या भोग्दै आएका छन् । पहिराेका कारण मार्तडी–कोल्टी सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनसमेत ठप्प छन् । सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामीलाई सास्ती भएको छ ।

पहिरो पन्छाउन वडा-७ का सर्वसाधारण समेत सहभागी भएका छन् । सडकको छेउछाउमा ‘ग्याबिन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ ।