९ जना मिलेर बालिकालाई बलात्कार, ६ महिनाकाे गर्भ भएपछि बाहिरियाे घटना

९ जना मिलेर बालिकालाई बलात्कार, ६ महिनाकाे गर्भ भएपछि बाहिरियाे घटना


सुर्खेत ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा ९ जना युवा मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।

वडा-६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक-पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न ९ जनामध्ये ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका ३ मध्ये २ जनालाई जुम्लाबाट र १ जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार छन् । फरार रहेकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाको नाम प्रहरीले गोप्य राखेको छ ।

बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्न कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।