मध्यबर्खामा पनि मकवानपुरगढीमा थेगिनसक्नु भिड, कहाँबाट कसरी जाने ?

मध्यबर्खामा पनि मकवानपुरगढीमा थेगिनसक्नु भिड, कहाँबाट कसरी जाने ?


हेटाैँडा ।

वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको संख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन ।

झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको संख्या मध्यबर्खामा पनि दैनिक ५०० देखि हजारकै हाराहारी छ । गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरूका कारण पनि गढीमा चहलपहल बढिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउँछिन् ।

आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न संघसंस्था, वित्तीय संस्थाहरू, सहकारी, विभिन्न स्थानीय तहलगायत संघसंस्थाहरूबाट सामूहिक भ्रमणमा आउने आगन्तुकको संख्या उल्लेख्य पाइएको बताएको छ ।

१००० सालतिरै तुला सेन नाम गरेका पहिलो सेनवंशी राजाले निर्माण गरेको मानिने मकवानपुरगढी ११औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले ११औँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ ।

सेनहरू मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे ।

पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरू बताउँछन् । लोहाङ सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरू, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ ।

विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरू आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् ।

गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको संख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन् । उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरू आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरूको संख्या बढेको हुन सक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन् ।

हेटौँडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्ति राजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सीधा आउन चाहनेहरूले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्छ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिंगन कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ ।

विगतमा ठुलो गढीमा मात्रै पर्यटकहरू पुग्ने गरेका भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुंगे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुंगेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् ।

मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राज खलक तुला सेनले १००० सालमा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरूको उद्गमस्थल मकवानपुर नै हो ।

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखहरूमा पाइएकालाई आधार मान्दा सेनहरू पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरूको वंशावलीअनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् ।

मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

तस्बिरहरू : गुगल