६५ प्रतिशत बढ्याे जीवन बिमा कम्पनीकाे नाफा, कसरी भयाे सम्भव ?

६५ प्रतिशत बढ्याे जीवन बिमा कम्पनीकाे नाफा, कसरी भयाे सम्भव ?


काठमाडौँ ।

सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरूको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो । साथै, कतिपय कम्पनीहरुले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । जसले गर्दा पनि वित्तीय विवरण सबल देखिएको हो ।

त्यस्तै, जीवन बिमा कम्पनीहरूको समग्र चुक्ता पुँजी पनि ३८ अर्ब ५६ करोड ७४ लाख ८६ हजार रुपैयाँबाट बढेर ५० अर्ब ९६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ३२.१४ प्रतिशतले धेरै हो ।

यता, जगेडा कोषको आकार पनि ३२.१६ प्रतिशतले बढेको छ । समग्रमा १२ जीवन बिमा कम्पनीको रिजर्भमा १२ अर्ब ८९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवम बिमा कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २२.६८ प्रतिशतले बढेर अहिले ५ खर्ब ३१ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

यी कम्पनीहरूले समग्रमा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा २.५३ प्रतिशत धेरै हो ।

समग्रमा हेर्दा नेपाल लाइफ, हिमालयन, सूर्य ज्योति, आइएमई लाइफ इन्स्याेरेन्सको वित्तीय अवस्था अरूको भन्दा राम्रो देखिएको छ ।